देश

भयावह बन्दै भिजिट भिसा, एयरपोर्टबाटै ५ हजार फर्काइए, रास्वपा र कांग्रेसको लडाइँ, समाधान खोई ? (भिडियोसहित)


काठमाडौं— नेपालभित्रिने तथा यहाँबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने जिम्मेवारी बोकेको अध्यागमन विभागका एक उच्च अधिकारीमाथि नै यतिखेर मानव तस्करीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । गृह मन्त्रालयअन्तर्गत पर्ने उक्त विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित तत्कालीन अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईमाथि नै मानव तस्कर गिरोहसँग संलग्न रहेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ७ गते मुद्दा दायर गरेको हो । यही मुद्दापछि यो विषय ‘भिजिट भिसा प्रकरण’का नामले चर्चित छ । भिजिट भिसा प्रकरण ठूलो राजनीतिक मुद्दा बनिरहँदा, कम्तीमा मुद्दा नसेलाउञ्जेल भए पनि भिजिट भिसामा जानेहरूको संख्यामा कमी आउने अपेक्षा थियो । तर, भिजिट भिसामा जानेको संख्यामा कमी आउनुको सट्टा यो क्रम झनै बढ्दो देखिन्छ ।