विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समितिको बैठक कक्ष सिंहदरबारमा दिउसो २ बजे बस्ने गरी बैठक बोलाइएको सभापति सभापति अम्बरबहादुर थापाले जानकारी दिए ।
बैठकमा बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको छैन । गत असार २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेपनि हालसम्म विधेयक टुंगोमा पुग्न सकेको छैन।
यसैबीच, शिक्षक महासंघले विधेयक पारित गर्न आलटाल गरिएको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ ।


प्रतिक्रिया