राजनीति

प्रचण्ड–विप्लवको एकतामा दल बाधक, १२ टुक्रा भएको माओवादी एकताको खोजीमा, नेकपाको विरोध (भिडियोसहित)


काठमाडौं— नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले पार्टीभित्रको आन्तरिक सन्तुलन व्यवस्थापनसँगै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्ने निर्णय पनि ग¥यो । पार्टी एकता गर्ने निर्णय सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै वाम राजनीति फेरि एकपटक तरंगित बन्यो । तर, सो निर्णयबारे नेकपाले अनभिज्ञता प्रकट गर्दै तत्काल पार्टी एकता सम्भव नरहेको जनाएपछि माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ । योसँगै तितरबितर भएका माओवादीहरू फेरि एकढिक्का हुने कुरामा समेत गहिरो आशङ्का बढाएको छ । सशस्त्र युद्धमा सर्वहाराका लागि एकजुट भएको माओवादी सत्ता राजनीतिमा आएपछि १२ टुक्रामा विभाजित भइसकेको छ । नेतापिच्छे नयाँ पार्टी खोलिएका छन् । नेताहरू विचार र सिद्धान्तभन्दा व्यक्तिगत राजनीतिक स्वार्थ पूरा गर्न आ–आफ्नै ‘दोकान’ खोल्ने प्रवृत्ति हाबी हुँदा १० वर्षे सशस्त्र युद्ध गरेर राजनीतिक उथलपुथल ल्याएको मूल पार्टी माओवादी केन्द्र भने अहिले शिथिल अवस्थामा छ । माओवादीबाट टुक्रिएर बनेका दलहरू आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेका छन् ।