देश

बदमासीले हद नाघ्दै, मन्त्री र प्रधानमन्त्रीले थाहै पाउँदैनन्, घेरिए मन्त्री पृथ्वीसुब्बा गुरुङ (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली । जसलाई भगवान् श्रीरामको जन्मभूमि मात्रै होइन, देवाधिदेव महादेवको थर समेत थाहा छ । उनका शुभेच्छुकले भनेको पत्याउने हो भने त यिनले नजानेको केही पनि छैन । तर, विडम्बना, हुँदै नभएको कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत गराएर वनमन्त्री ऐनबहादुर शाहीले पत्नी र स्वकीय सचिवलाई समेत सरकारी खर्चमा नर्वे घुमाएको ओलीले पत्तै पाएनन् । मन्त्री शाहीले आफ्नो मन्त्रालयबाट ‘नर्वे टु इस्ट्रेन्थन को–अपरेसन’ कार्यक्रममा सहभागी हुन जाने भन्दै स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यही प्रस्तावका आधारमा २३ असारको मन्त्रिपरिषद् बैठकले उनलाई भ्रमणका लागि अनुमति दिएको थियो । अहिले यो विषय संसदमै समेत उठेको छ । तर न त ओलीले उनलाई कारबाही गर्न सकेका छन्, न त मन्त्रीले प्रस्ट उत्तर दिएका छन् । सायद ओलीले आफ्नो मन्त्रिपरिषद्ले के निर्णय गर्छ, मन्त्रीहरू कसरी बदनाम भइरहेका छन् भन्ने अझै थाहा नै पाएका छैनन् होला ।