समाचार

रूपन्देही–३ को उपनिर्वाचन : बालेनका पूर्वसल्लाहकार गिरीले स्वतन्त्र रुपमा थाले घरदैलो अभियान


काठमाडौं— काठमाडौं महानगरका प्रमुख बालेन शाहका पूर्वसल्लाहकार समेत रहेका रुपन्देहीका सन्तोष गिरीले आगामी कार्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन । देश परिवर्तनको लागि नेतृत्वमा प्रतिबद्धता, दूरदृष्टि र इमानदारीको आवश्यकता भइरहेको अवस्थामा नयाँ पुस्ताले राजनीतिमा नेतृत्व लिनुपर्ने समय आइसकेको सन्देशसहित सन्तोष गिरीले राजनीतिक यात्रा अघि बढाएका हुन । औपचारिक उम्मेदवारी घोषणा नगरे पनि स्वतन्त्र उम्मेदवार बन्ने उद्देश्यसहित मतदाताको घरदैलोमा रहेका गिरीले आफ्नो फेसबुकमार्फत यस्तो सन्देश दिएका छन् ।

तिलोत्तमा निवासी गिरी युवाहरुबीच बौद्धिक, सरल र मृदुभाषी नेताको रूपमा परिचित छन्। हाल गिरी आफ्नो क्षेत्रका मतदातासँग निरन्तर भेटघाटमा व्यस्त छन्। उद्योगी–व्यवसायी, विभिन्न दलका स्थानीय नेताहरू, सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरू, खेलकर्मी र सर्वसाधारणहरूसँग प्रत्यक्ष संवाद गर्दै सुझाव र गुनासोहरू सुन्दै छन ।

भैरहवाका युवा उद्यमी राजकुमार गुप्ताले उम्मेदवारका आकाक्षीं सन्तोष गिरीले मतदाताको मन जित्न थालेको बताए । दलहरुले जनभावना अनुसार काम नगर्दा मतदाताले विकल्प खोजिरहेको उनले बताए । गिरीले जनतामाझ प्रस्तुत गर्ने स्पष्ट योजना र क्षेत्रगत विकासको दृष्टिकोणले चुनावी माहोललाई तिब्रता दिएको उद्यमी गुप्ताको भनाई छ ।

गिरीले शुद्धोधन गाउँपालिका–६ को गुरौली र वडा नम्बर १, बेलवा जोड्ने पुलको निरीक्षण गर्दै त्यहाँको समस्या उजागर गरेका छन । १३ वर्षअघि करोडौंको लगानीमा बनेको उक्त पुल अहिलेसम्म प्रयोगमा नआएको र दुबै छेउको बाटो नजोडिनु, पुलको डिजाइनमा त्रुटि र योजना साटासाट जस्ता प्रणालीगत बेथितिका कारण यो अवस्था आएको गिरीको भनाइ छ ।

गिरी पछिल्ला दिनमा मतदातासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र जनताका समस्या सुन्ने अभियानमा छन्। “अब जनतालाई केवल आश्वासन होइन, जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने नीति र योजनाहरू चाहिन्छ”, गिरी बताउछन् ।


गिरीको अभियानले अहिले क्षेत्रको चुनावी माहोलमा नयाँ बहस र चासो ल्याएको छ । स्थानीय तहमा दलहरूप्रति वितृष्णा बढिरहेको सन्दर्भमा गिरीको स्वतन्त्र उम्मेदवारी तयारीले दलहरूलाई सशकिंत बनाएको छ ।