मौसम

सुख्खाग्रस्त मधेसमा हल्कादेखि मध्यम वर्षा, किसानलाई राहत


काठमाडौं— लामो समयको खडेरीपछि सुख्खाग्रस्त मधेसमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार धनुषामा ६३ मिलिमिटर, रौतहटमा ४४ दशमलब ६ मिलिमिटर र बाराको अमलेखगंजमा ४६ दशमलब ४ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेशका बाँकीका केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको हो ।

यसैबीच, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावका कारण आज देशैभर बदली रहने छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सरकारले मधेसका आठै वटा जिल्लालाई संकटग्रस्त घोषणा गरी त्यहाँ सिँचाइका लागि वैकल्पिक माध्यमहरुको खोजी सुरू गर्न भनिएको छ। केही जिल्लामा डिप बोरिङ खन्ने प्रक्रिया अघि बढिसकेको छ । आज राति पनि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।