काठमाडौं—आफैँ भ्रष्टाचारको मुद्दामा फसेपछि शिथिल भइरहेका माधवकुमार नेपाललाई उनकै पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रहार गरे– ‘पार्टी फुटाउनु गलत भएकै हो ।’ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालको यो अभिव्यक्ति यस्तो बेला आएको छ, जतिबेला नेपाल चौतर्फी घेराबन्दीमा परेका छन् । हुन त मुद्दा परिसकेपछि नेपालले नेतृत्व नछाडेकोमा उनले पहिले नै प्रश्न उठाएका थिए । अझ अघि जाने हो भने पार्टी स्थापनाकालदेखि नै उनीहरू एक–अर्काका विरोधीजस्तै प्रस्तुत हुँदै आएका थिए । फलतः पछिल्लो प्रहारले नेपालको मुटुमै प्रहार हुँदा उनले पनि जवाफ फर्काए, “त्यो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन ।” आजकाल एआईको जमाना पनि भएको र नबोलेको कुरा पनि बोलेजस्तो बनाइने शङ्का व्यक्त गर्दै नेपालले भने, “यदि बोलेको भए नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनुपर्छ, बिदा लिएर जानुपर्छ ।” यतिमात्र होइन, उनले खनाल पार्टीको संस्थागत निर्णय उल्लङ्घन गर्ने कुरामा एक नम्बरमा रहेको समेत भन्न भ्याए । सँगै, रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोधिएकाले कारबाही हुने स्पष्ट पार्दै उनले सङ्गठनका निर्णयहरू उल्लङ्घन गर्ने व्यक्तिहरूलाई छुट नहुने चेतावनी दिए ।
राजनीति


प्रतिक्रिया