राजनीति

प्रचण्ड र सीकेको पछि लागेपछि रञ्जितामाथि प्रहार, देउवाको इसारामा रेशम, घरझगडाले पार्टी सखाप (भिडियोसहित)


काठमाडौं— वि.सं. २०७८ पुस १९ मा आफू संरक्षक बनेर श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा रेशम चौधरीले जेलबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टी २०८२ सम्म आइपुग्दा फुटको निकट देखिएको छ । पार्टीभित्रको कार्यकारी भूमिकालाई लिएर पति–पत्नीबीच नै असन्तुष्टि बढ्दा नाउपा एउटा महाधिवेशन पनि गर्न नसकी फुटको नियति भोग्नुपर्ने अवस्थामा पुगेको हो । काठमाडौंमा यही साउन १४ र १५ गते भएको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष नियुक्त गरेसँगै नाउपा अघोषित रूपमा नै फुटको पथमा गएको छ । यसअघि बुधबार अध्यक्ष रञ्जितालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भेलाले त्यसको भोलिपल्ट, अर्थात् बिहीबार, नाताले संरक्षक रेशमका सहोदर बुबासमेत रहेका लालवीरलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष रञ्जिताले डेढ वर्षदेखि पार्टीको बैठक नराखेर अनिर्णयको बन्दी बनाएको भन्दै विधि र पद्धतिअनुसार पार्टीलाई निकास दिन र चलायमान बनाउनका लागि यस्तो कदम उठाउनु परेको नवनियुक्त अध्यक्ष चौधरीको भनाइ छ ।