समाचार

माओवादीको स्थायी समिति बैठक आज शुरु हुँदै


काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज शुरु हुँदैछ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आज सुरु हुने बैठक चार दिनसम्म चल्ने माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

चार दिन चल्ने बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने तयारी छ । त्यसपछि मध्य पहाडी जागरण अभियान, समाजवादी मोर्चा, पार्टी एकता, संगठन सुदृढीकरण र आन्तरिक एकताको विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेको विषयमा पनि बैठकमा छलफल हुने भएको छ । जनार्दन शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तालाई नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन् ।

केही दिनअघि अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच सार्वजनिक आरोप प्रत्यारोप नै चलेको थियो। तर, प्रचण्डले भने पार्टीका सबै असन्तुष्टि हल भइसकेको दाबी गर्दै आएका छन् ।