राजनीति

ओलीको मन्त्री फेर्ने लिस्ट, देउवाले रोके, कांग्रेसमा भाँड्भैलोको डर, भ्रष्टाचारी मन्त्रीका पद जोगियो (भिडियोसहित)


काठमाडौं—प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार गठन भएको एक वर्षपछि मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् । लामो समय आ–आफ्नो दलभित्रको आन्तरिक कलहको हल खोज्न व्यस्त ओली र देउवा, दलको आन्तरिक किचलोलाई थामथुम पारेर सरकारको समीक्षामा जुटेका हुन् । प्रधानमन्त्री ओलीको तयारी र बारम्बारको ताकेतापछि सभापति देउवा बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगे । तत्काल मन्त्री फेर्न अनिच्छुक उनी आफ्ना उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकसहित बालुवाटार पुगेका थिए । बैठकमा एमालेबाट उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी भएका थिए । एमालेबाट हेरफेर हुने मन्त्रीहरूको सूची ओलीले तयार गरेर बसेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले नयाँ मन्त्रीको नामसहितको पत्र ओलीको हातमा थमाइसकेका छन् । रुपन्देही उपनिर्वाचनलाई लक्षित गर्दै श्रममन्त्री शरतसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्लालाई मन्त्री सिफारिस गरिएको छ । जतिसक्दो छिटो मन्त्री फेरबदल गर्न हतारिएका ओली देउवाका कारण अप्ठ्यारोमा छन् ।