काठमाडौं— बुधवार बिहान रुसको सुदूर तटीय क्षेत्र कामचात्स्की प्रायद्वीपलाई केन्द्रविन्दु बनाएर ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वे (युएसजीएस) का अनुसार उक्त भूकम्प नेपाली समय बिहान ४ बजेर ५४ मिनेटमा गएको थियो । रुसी भूगर्व निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै यो सबैभन्दा शक्तिशाली भूकम्प हो । पछिल्लो १० दिनयता सोही क्षेत्रमा निरन्तर भुइँचालो गइरहेको थियो । भूगर्भ वैज्ञानिकहरूले यसलाई विश्वकै छैटौँ शक्तिशाली भूकम्प भनेका छन् । तथ्याङ्कअनुसार, सन् २०१० मा चिली र सन् १९०६ मा इक्वेडरमा ८.८ म्याग्निच्युडका भूकम्प आएका थिए । कामचाट्कामै सन् १९५२ मा ९ म्याग्निच्युडको भूकम्प आएको थियो । यो भूकम्प पृथ्वीमा आएको अहिलेसम्मकै ठूलो भूकम्प हो । यस्तै सन् २०१२ मा हिन्द महासागर क्षेत्रमा ८.६ म्याग्निच्युडको भूकम्प गएको थियो । कामचात्स्कीमा झन्डै सात दशकपछि दोस्रो पटक शक्तिशाली भूकम्प गए पनि यसबाट भएको भौतिक एवं मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । शक्तिशाली भूकम्पका कारण प्रशान्त महासागरीय क्षेत्रमा सुनामी आएको छ । सुनामीको सुरुवाती छालहरुले तटीय क्षेत्रमा छुन थालेका छन् भने उच्च जोखिम रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया