राजनीति

विद्या रोक्न ओलीको अर्को अस्त्र, राजनीतिक भेटघाट र बहसमै रोक, रवि र बालेनको नेता बन्ने अवसर (भिडियोसहित)


काठमाडौं— विद्या भण्डारीविरुद्ध वडासम्मै भिड्ने तयारीमा रहेका अध्यक्ष केपी शर्मा ओलीले उनको विकल्पसमेत बन्द गर्दै लगेका छन् । मध्यरातसम्म प्रदेश इन्चार्जहरूसँग छलफल गरेर आक्रामक रूपमा प्रस्तुत भएका ओलीले अन्तर–पार्टी निर्देशनमार्फत भण्डारीको विषयमा बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएका हुन् । गत साउन ६–७ मा सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकको निर्णयसमेत संलग्न गरेर आइतबार साँझ जारी अपानि–१२ मार्फत पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो । ‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिको नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौँ बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन,’ अपानिमा भनिएको छ । यसको अर्थ, पार्टीभित्रैबाट माहोल बनाउने भण्डारीको बाटो बन्द भएको छ । साथै, महाधिवेशनबाट नेतृत्व टुङ्गो लाग्ने भन्दै ओलीकै लागि मात्र विधान संशोधन नगरिएको भाष्यसमेत निर्माण भइरहेको छ ।