काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत ल्याउन सके । १ मत बदर भएको छ । १३ साउन मंगलबार आफू विरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आएपछि उनले दल नेताको हैसियत गुमाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा २२ मत परेको थियो ।
यसैबीच, नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले नेपाली कांग्रेसलाई आफूभित्रको विवाद चाँडो मिलाउन अनुरोध गरेको छ । कांग्रेसले विवाद मिलाउन नसके एमाले रेस्क्यूका लागि तयार रहेको भन्दै वैकल्पिक उपायमा जान सक्ने नेता जगन्नाथ थपलियाले बताए । निर्णय सुनाउँदै थपलियाले कुनै पनि पार्टीको आन्तरिक कारण संघीय सिष्टममा समस्या हुनु नहुने बताए ।


प्रतिक्रिया