राजनीति

कांग्रेस–एमालेको बढ्यो टसल, माधव–प्रचण्डको ओली बोक्ने संकेत, के देउवालाई फेरि धोका हुँदैछ ? (भिडियोसहित)


काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विधेयकहरूमा देखिएको फरक मतले दरार बढाउँदै लगेको छ । फलतः दुई दलका नेताहरू एकअर्काको आलोचनामा उत्रिँदा विपक्षीले समेत अर्थपूर्ण सक्रियता बढाएका छन् । उनीहरूबीच भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा फरक मत छ । त्यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट फिर्ता भएको छ भने विद्यालय शिक्षा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकका कतिपय विषयमा पनि कांग्रेस र एमालेबीच मतभिन्नता छ । यीमध्ये भूमि र शिक्षा विधेयक सबैभन्दा पेचिलो बन्दा एमालेका बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले कांग्रेसले विधेयकहरूमा दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् ।