समाचार

एक महिनासम्म मनाइने ‘गुँला पर्व’ आजबाट सुरू


काठमाडौं — काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू भएको छ । वर्षभर दिवंगत भएकाको वैकुण्ठमा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

गुँला पर्व नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवाः पर्व मानिन्छ । यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने गरिन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ ।

यो पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि यस पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गरिन्छ ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन बढेको छ ।