समाचार

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस मनाइँदै


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले पार्टी कार्यालय च्यासलमा र समाजवादी मोर्चाले राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरेका छन् ।

गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर पुष्पलालले प्रवासमा बसेर कम्युनिष्ट पार्टीका गतिविधि गरेका थिए ।

कम्युनिष्ट पार्टी विभिन्न पार्टी र विचारमा विभाजन भए पनि संसदमा बलियो उपस्थिति छ । विसं. १९८१ असार १५ गते रामेछापमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो ।