राजनीति

फुटको डिलमा राप्रपा, पुरानालाई पन्छाउँदै लिङ्देन, ज्ञानेन्द्र शाही जस्ता नयाँ पुस्ता हुले, नवराज समूह संकटमा (भिडियो)


काठमाडौं — कान्तिपथस्थित निर्वाचन आयोग धाउनु राष्ट्रिय प्रजातन्त्र पार्टी इतर समूहका नेताहरूको लगभग दैनिकी बनेको छ । नेतृत्वले स्वेच्छाचारी ढंगबाट पार्टी सञ्चालन गरिरहेको भन्दै दिनहुँजसो पार्टीका पदाधिकारीहरू आयोगमा हारगुहार गर्न पुगिरहेका छन् । वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाही तथा नेता प्रकाशचन्द्र लोहनीजस्ता राप्रपाका प्रभावशाली व्यक्तिहरू अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध निर्वाचन आयोगको ढोका ढकढकाउन पुगेका हुन् । असार २९ गते आफूहरूलाई दिइएको जिम्मेवारीबाट विधानविपरीत हटाइएको भन्दै लौरो टेकेरै अनुशासन समितिका अध्यक्ष रहेका, पार्टी संस्थापनकालदेखिका ८६ वर्षीय नेता नवराज सुवेदी र प्रवक्ताको जिम्मेवारीमा रहेका सगुनसुन्दर लावती निर्वाचन आयोग पुगेका थिए । अहिले फेरि मनोनीत उपाध्यक्ष मुकुन्दश्याम गिरी पनि न्याय माग्दै आयोग पुगेका छन् । उपाध्यक्ष गिरीमाथिको कारबाहीको विरोधमा विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष र महामन्त्रीद्वयले गिरीमाथिको कारबाही फिर्ता लिएर पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गरेका छन् ।