काठमाडौं — विधान महाधिवेशनमै एकअर्कालाई रोक्न अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रयास विफल भएसँगै अब एमालेको आन्तरिक राजनीति कसरी अघि बढ्छ भन्ने चासोपूर्वक हेरिएको छ । तत्कालका लागि एमालेमा विस्फोट टरे पनि पूर्वराष्ट्रपति भण्डारीको आगमनले अन्तरसंघर्षको बीजारोपण गराएको छ । यसले अब पार्टी सञ्चालन, भावी रणनीतिदेखि सत्ता सञ्चालनमा समेत यी दुईबीचको अन्तरसंघर्ष चर्किने पक्का छ । आइतबार च्यासलमा दुई घण्टा ‘वान–टु–वान’ भेट गरेका विद्या–ओलीको सहमति केन्द्रीय कमिटीको बैठकसम्म पुग्दा खण्डित हुन पुगेको छ । केन्द्रीय कमिटीको बैठकमा विद्या र उनी पक्षका नेताप्रति ओली निर्मम ढंगले प्रस्तुत मात्रै भएनन् कि नेताहरूलाई कारबाहीको चेतावनीसमेत दिन भ्याए । उनले विद्या भण्डारी एमालेको अध्यक्ष बन्न नसक्ने ठोकुवा गर्दै पार्टीमा विभाजनकारी तत्वको आरोपसमेत लगाए, जसले एमालेभित्रको ध्रुवीकरणलाई झनै प्रस्ट्याएको छ । यति मात्र होइन, अध्यक्ष ओलीले घुमाउरो शैलीमा विद्याको सक्रियताप्रति सचेत हुन नेताहरूलाई आग्रह गरे । अझ, नेताहरूलाई विद्याको प्रवक्ता नबन्न चेतावनी दिँदै ओलीले पूर्वराष्ट्रपतिको गरिमामाथि पार्टीका शीर्ष नेताहरूले नै राजनीतिकरण गरेको आरोप लगाए । त्यस्ता कदम नरोकिए विद्यामाथि मात्र होइन, उनीनिकट नेताहरूमाथि समेत निर्मम बन्ने संकेत ओलीले गरेका छन् । तैपनि, नेताहरू भने आन्तरिक राजनीतिको यो संघर्षलाई बाहिर सामान्य देखाउने प्रयास गरिरहेका छन् ।
राजनीति


प्रतिक्रिया