काठमाडौं — पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरूमाथि छलफल हुने छ ।
अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुने छ । गत शनिबार सकिएको पोलिटब्युरो बैठकले सचिवालयका तर्फबाट प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको थियो ।
पोलिटब्युरोले पारित गरेको विधानमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद, लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको छैन । त्यस्तै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रबन्ध गरिएको छ । मंगलबारसम्म चल्ने बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज पारित गरेर छलफलका लागि मातहतका कमिटीमा पठाउनेछ । आएका सुझावहरूलाई समेटेर विधान महाधिवेशनमा प्रस्तुत गरिने एमालेले जनाएको छ । केन्द्रीय सदस्यलाई बोल्न ३ मिनेटको समय निर्धारण गरिएको छ ।
एमालेमा पदेन सहित ३५५ जना केन्द्रीय सदस्य छन् ।


प्रतिक्रिया