समाचार

देशभर बाढी–पहिरो, राजमार्गहरु बन्द, पर्वतमा दुईको ज्यान गयो, लामो यात्रा नगर्न प्रधानमन्त्रीको सुझाव (भिडियो)


काठमाडौं — नेपालमा मनसुन सुरु भएसँगै वर्षाका कारण आउने बाढी, पहिरो लगायत प्राकृति विपदका कारण जनजीवन अस्तव्यस्त बन्ने गरेको छ । अविरल वर्षा हुँदा देशका अधिकांश भूभागमा बाढी, पहिरो, डुबान, सडक अवरुद्ध र बिजुली कटौतीजस्ता समस्या व्यहोर्नु पर्ने बाध्यता छ । जनधनको क्षति बढ्दो क्रममा छ भने । पछिल्लो २४ घण्टायता मुलुकका ५५ भन्दा बढी जिल्लामा भारी वर्षा भएको छ । अझै पनि कतिपय क्षेत्रमा वर्षा जारी छ । ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, गोरखा, संखुवासभा, स्याङ्जा, बागलुङ, पाल्पा र रुकुमजस्ता पहाडी जिल्लामा पहिरोको उच्च जोखिम छ । यता, तराईका बर्दिया, बाँके, पर्सा, महोत्तरी, सप्तरी, सिराहा र मोरङ डुबानमा पर्ने जोखिम उच्च छ । अविरल वर्षाका कारण शनिबार राति पहिरोले घर पुरिँदा पर्वतमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमतीको मृत्यु भएको छ । उनीहरुकी बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छन् ।