काठमाडौं — कांग्रेस–एमाले गठबन्धनबाट देशकै शक्तिशाली गृह मन्त्रालय सम्हालेका रमेश लेखकले वर्षदिनमा जनअपेक्षाअनुरूप उपलब्धि नै उपलब्धि हासिल गरिएको विवरण सार्वजनिक गरेका छन् । यद्यपि, उनको यो एकवर्षे कार्यकाल उपलब्धिभन्दा बढी विवादै विवादमा बित्यो । गृहमन्त्रालय सम्हालेलगत्तै प्रहरी अनुसन्धानमा हस्तक्षेप गरेको आरोप खेपेका लेखक पछिल्लो समय भिजिट भिसा प्रकरणको नैतिक संकटको चेपुवामा छन् ।
भिजिट भिसाको गम्भीर प्रकरणमा मुछिएको आरोपका बीच लेखकको राजीनामा माग्दै संसदीय छानबिन समितिमा उनी पनि आउनुपर्ने प्रश्नले घेरिए । सो प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादीसँगको दुईबुँदे सहमतिमार्फत उनको पद जोगिएको छ भने रास्वपा र राप्रपा आफ्नो अडानमा अडिग रहँदै संघीय संसद्मा अवरोध जारी राखेका छन् । रास्वपाले मानव तस्करी जस्तो जघन्य अपराधमा मुछिएको विषयमा राजीनामा नदिई उम्किएकाले आफूहरूले यो मुद्दा नछाड्ने बताएको छ ।


प्रतिक्रिया