काठमाडौं — नेपाली महिला भलिबलकी स्टार खेलाडीद्वय सरस्वती चौधरी र प्रतिभा मालीबिना पहिलोपल्ट भएको महिला भलिबल लिगको अक्सन सम्पन्न भएको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सन शुक्रबार सोल्टी होटलमा सम्पन्न भएको छ । जहाँ नेपाली महिला भलिबलमा लामो समयसम्म स्टार खेलाडीका रूपमा रहेका स्पाइकरद्वय सरस्वती र प्रतिभा अनुपस्थित रहे ।
दुवै खेलाडी हाल नेपाली खेलकुदबाट पलायन भैसकेका छन् । उनीहरू अस्ट्रेलियामा छन् । पहिलोपल्ट नेपाली भलिबलमा अक्सन हुँदा उनीहरू पनि आउन सक्ने अनुमान थियो । भलिबल समर्थकले पनि प्रतिभा र सरस्वती ल्याउनुपर्ने धारणा राख्दै आएका थिए । तर, शुक्रबार कुल ६८ खेलाडीको नाम अक्सनमा समावेश हुँदा झन्डै पछिल्लो एक दशक स्टार खेलाडीका रूपमा रहेका प्रतिभा र सरस्वती थिएनन् ।
अक्सनमा ‘ए’ क्याटेगोरीमा रहेका १३ खेलाडीमध्ये मधेस युनाइटेड आरती सुबेदी, कर्णाली यसभिसले सफिया पुन, पोखरा निन्जाजले पुनम चन्द, ललितपुर क्विन्सले संगम महतो, काठमाडौं स्पाइकर्स कविता भट्ट र लुम्बिनी लाभाले कामना बिष्टलाई आ–आफ्नो टोलीमा किने ।
राष्ट्रिय टोलीमा रहेकी लिबेरो शान्तिकला तामाङ ‘ए’ क्याटेगोरीमा थिइन् । तर, उनीमाथि ‘ए’ का लागि कसैले बोली लगाएनन् । क्याटेगोरी ‘ए’ मा अनसोल्ड खेलाडीहरु स्वतः क्याटेगोरी ‘बी’ मा र क्याटेगोरी ‘बी’ मा अनसोल्ड खेलाडी क्याटेगोरी ‘सी’ मा घटुवा हुने प्रावधान थियो । सोहीअनुरूप शान्तिकलामाथि ‘बी’ लुम्बिनीले बोली लगायो ।
पोखरा निन्जाजले युवा स्पाइकर मीना सुनारलाई अनुबन्ध गर्यो । पोखराले अक्सनबाट उनलाई एक लाख ५० हजार रुपैयाँ खर्चियो । मीनाले पहिलो संस्करणमा कर्णाली यसभिसलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । सरस्वती कट्टेल र उषा विष्टलाई मधेश युनाइटेड, रस्मिता दुरालाई कर्णाली तथा सुनिता राईलाई ललितपुर क्विन्सले अनुबन्ध गरेका छन् । यी सबै एक लाख रुपैयाँमा बिक्री भए ।
मधेसको मार्की खेलाडीमा राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य निरुता ठगुन्ना छन् । उनको टोली अक्सनमा बी क्याटेगोरीबाट क्विक स्पाइकर कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट किन्यो । ‘सी’ क्याटेगोरीबाट बबिता बोहरा, वसन्ती साउद, स्नेहा ठगुन्ना बिक्री भए । डिफेन्डिङ च्याम्पियन कर्णाली यशभिसको मार्कीमा सुमित्रा रेग्मी छन् । उनकै कप्तानी कर्णालीले पहिलो संस्करणको उपाधि जितेको थियो । उनको टोलीले अक्सनमा रश्मित दुरा, जश्ना महतो र पूजा थारु ‘बी’ क्याटेगोरीबाट किनेको छ । राष्ट्रिय टोलीका पूर्वसदस्य नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु ‘सी’ क्याटेगोरीबाट टोलीमा समावेश भएका छन् । यसपल्ट नाम परिवर्तन गरेको पोखराको मार्की प्रगति नाथ छन् ।
गत संस्करण सरस्वती चौधरी मार्की खेलाडी थिइन् । यो टोलीले ‘बी’ क्याटेगोरीमा मीनासागै, सुनिता खत्री र गरिमा बोहरालाई किनेको छ । ‘सी’ क्याटेगोरीबाट एञ्जिला प्रधान, निशा महर र भावना तामाङ टोलीमा समावेश भएका छन् । ललितपुरको मार्कीमा लिबेरो सलिना श्रेष्ठ छिन् । उनकै कप्तानीमा ललितपुर गत संस्करण फाइनलमा पसिन पुगेको थियो । उनको टोलीले ‘बी’ क्याटेगोरीमा लक्ष्मी चन्द, सुनिता राई र सलिना बुढामगरलाई किन्यो । ‘सी’ क्याटेगोरीबाट निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगी अनुबन्ध भएका छन् । गत संस्करण आशातित प्रदर्शन गर्न नसकेको काठमाडौंको मार्की राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारी छन् । अक्सनबाट ए क्याटेगोरीमा कबिता भट्ट अनुबन्ध भइन् ।
यो टोलीले ‘बी’ क्याटेगोरीबाट मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवरलाई किनेको छ । ‘सी’ क्याटेगोरीमा बाल्मिका आचार्य, अनुभवी लिफ्टर कमला पुन र आशिका क्षेत्रीलाई अनुबन्ध भए । लुम्बिनीको मार्की राष्ट्रिय टोलीकी कप्तान तथा लिफ्टर अरुणा शाही छन् । अक्सनबाट ए क्याटेगोरीमा कामना विष्ट अनुबन्ध भइन् । ‘बी’ क्याटेगोरीबाट एलिशा मानन्धर, शान्तिकला तामाङ र जेनिशा बिक अनुबन्ध भए । ‘सी’ क्याटेगोरीबाट रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी अनुबन्ध भएका छन् । आगामी भदौमा एभरेष्ट महिला भलिबल लिग पोखरामा आयोजना गर्ने गरी तयारी गरिएको छ ।
नेपाली भलिबलको इतिहासमै गत वर्ष पहिलो पटक महिलाको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिग सफलतापूर्वक आयोजना भएको थियो । त्यतिबेला भने अक्सन भएको थिएन । यस वर्ष दोस्रो संस्करणबाट भने अक्सन सुरु गरिएको हो । यस अक्सनमा साबिक विजेता कर्णाली यसभिस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाईटेड, पोखरा निन्जाज र लुम्बिनी लाभा गरी कुल ६ फ्रेन्चाइज टोलीले बोली लगाएका थिए ।
हरेक फ्रेन्चाइज टोलीले अक्सनमा १३ खेलाडी रहेको क्याटेगोरी ‘ए’ बाट एक जना, ४३ खेलाडी रहेको क्याटेगोरी ‘बी’ बाट तीन र १८ खेलाडी रहेको क्याटेगोरी ‘सी’ बाट तीन खेलाडी अनिवार्य लिनुपर्ने प्रावधान थियो । यहाँबाट हरेक टोलीले कुल सात खेलाडी लिनुपर्ने थियो । सबै टोलीले समान एक मार्की खेलाडी छनोट राखिसकेका छन् ।


प्रतिक्रिया