समाचार

वामदेव नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीमा समाहित हुँदै, आज घोषणा सभा


काठमाडौं —नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानको आज एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर गरेका थिए । आज हुने एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीले जनाएको छ । एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको नेताहरुले बताएका छन् ।