देश

माओवादीले माग्यो ओलीको राजीनामा, घुसको अडियोले संसदमा हंगामा, सरकारले किन सुनेन ? (भिडियो)


काठमाडौं – विगत ४७ दिनदेखि सदन अवरोध गर्दै आएका सदनका चौथो र पाँचौँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबारको सदन पनि बहिष्कार गरे । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि सदन बहिष्कार गर्दै आएका हुन् । गृहमन्त्री लेखकको राजीनामा वा छानबिन समितिलाई बटमलाइन बनाएर सदन बहिष्कार गर्दै आएको रास्वपाले अहिले सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको नाम पनि जोडेको छ । गृहमन्त्री लेखकका साथै घुस काण्डमा मुछिएका दुवै मन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रास्वपा सांसद अशोक कुमार चौधरीले मानव तस्करीको घटनामा सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन् ।