संघीय संसद्को दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीसमेत रहेको छ । यसैबीच, राष्ट्रियसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा ऊर्जामन्त्री दिपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।


प्रतिक्रिया