काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले १८ जना नेतामाथि कारबाहीको डण्डा चलाएपछि पार्टीभित्रको गुटबन्दी र तनाव उत्कर्षमा पुगेको छ । यो कारबाही सभापति शेरबहादुर देउवाको नेतृत्वलाई चुनौती दिँदै आएको आफ्नो समूहका नेताहरूमाथि लक्षित भएको डा. शेखर कोइरालाको दाबी छ ।
फलतः यसलाई आगामी महाधिवेशन–केन्द्रित सभापति देउवाको रणनीतिको रूपमा समेत हेरिएको छ । हुन पनि कारबाहीमा पर्ने अधिकांश नेता कोइराला समूहकै छन् र कारबाहीको आधार गठबन्धन गरेका पार्टीलाई भोट नहालेको जस्ता विषयलाई बनाइएको छ । त्यस्तै, पार्टी नै विलय गराएर कांग्रेसमा आएकादेखि कम्युनिष्टको किल्ला मानिने क्षेत्रमा कांग्रेसलाई जिताएका नेताहरूसमेत कारबाहीको दायरामा परेका छन् । यसले इतर गुटलाई महाधिवेशनअघि नै तह लगाउने देउवाको रणनीति भएको भाष्यलाई बल पु¥याएको छ । अर्थात्, यो कारबाहीले कांग्रेसको आन्तरिक एकता र संगठनात्मक संरचनामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यसले नेता तथा कार्यकर्तामा निराशा र असन्तुष्टि बढाउने जोखिम छ, जसको असर पार्टीको तल्लो तहसम्म पर्न थालिसकेको छ । यो निर्णय बहुमत–अल्पमतका आधारमा गरिएको इतर पक्षको दाबी छ । हुन पनि अनुशासन समितिका पाँच जना सदस्यहरूमध्ये दुई जनाले यसमा ‘नोट अफ डिसेन्ट’ नै लेखेको अवस्था छ ।
यसबाहेक, विधानअनुसार पार्टी सदस्यउपर उजुरी परेको छ महिनाभित्र अनुशासनको कारबाही टुङ्ग्याइसक्नुपर्ने व्यवस्था छ । तर, उजुरी परेको करिब साढे दुई वर्षपछि यो कारबाहीको निर्णय बाहिर आएको छ । यसले क्रियाशील सदस्यता वितरणदेखि नै गुटगत राजनीतिको अर्को खेल सुरु भएको विश्लेषण भइरहेको छ ।
पछिल्लो समय कांग्रेसमा गुटबन्दी केही मत्थर देखिए पनि नेताहरूको कित्ता परिवर्तनले भने उथलपुथल हुँदै आएको थियो । यसैको उदाहरण महामन्त्री गगन थापा देउवा गुटसँग निकट हुँदा बालकृष्ण खाणजस्ता व्यक्ति कोइरालातिर नजिकिए ।
(बाकि भिडियोसहित)


प्रतिक्रिया