बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ६ बजे सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप सडकबाट झन्डै ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया