परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट स्वदेश फर्किएकी छन् । परराष्ट्रमन्त्री राणा रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ अधिवेशनमा सहभागि हुन इटली प्रस्थान गरेकि थिईन । मन्त्री राणा उतैबाट जर्मनी गएर आज स्वदेश फर्किएकी हुन् ।
उनले २८ जुनदेखि ४ जुलाईसम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई सम्बोधन गरेकी थिइन् । सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेको बताइन् । खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति मार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताइन् ।
साथै उनले जलवायु परिवर्तनको समस्या खेपिरहेका नेपाल र हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरेको उल्लेख गरिन् ।
यसैगरी जर्मनी भ्रमणका क्रममा मन्त्री राणाले जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । मन्त्री राणलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।


प्रतिक्रिया