काठमाडौं – सरकारसँग ६ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीहरूले आजदेखि पसल खोलेका छन् । सरकारसँग सहमति भएपछि विरोधका कार्यक्रम स्थगित गरेर पसल खोलिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभयो ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।
बिहीबार साँझ अर्थ मन्त्रालयमा भएको वार्तामा व्यवसायीका माग सम्बोधन गर्न कार्यदल गठन गर्ने र विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गर्ने सहमति भएको छ ।


प्रतिक्रिया