समाचार

भोटेकोशी बाढी : हिमताल विस्फोट भएर बाढी आएको निष्कर्ष


काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाइ छ ।

’बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ,’ उनले भने। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।