समाचार

भोटेकोशीमा बाढी : ९ जनाको शव फेला, २० जना बेपत्ता


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर २० जना बेपत्ता छन् । बेपत्ता हुनेमा ११ जना सर्वसाधारण, २ जना प्रहरी र ६ चिनियाँ नागरिक रहेका छन् ।

बाढीमा बगेर बेपत्ता भएका एक जना प्रहरीको शव भने चितवनमा फेला परेको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा फेला परेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

मंगलबार बिहानदेखि आएको बाढीमा चपेटमा परेका ५७ जनाको भने उद्धार भएको नेपाल प्रहरीले जानकारी गराएको छ । बेपत्ता भएकाको खोजीकार्यमा ३८३ जना प्रहरी परिचालन गरिएको छ ।

बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाको १, २ र ३ वडा, आमाछोदिङ्मो गाउँपालिकाको १, २, ४ र ५ वडा, उत्तरगया गाउँपालिकाको २, ४ र ५ वडाका साथै कालिका गाउँपालिकाको १ नम्बर वडा बढी प्रभावित भएका छन् ।

रसुवाको भोटेकोशी नदी तिब्बततर्फ ल्हेन्दे खोला भनिनेमा मंगलबार बिहान आएको भीषण बाढीले धनजनको ठूलो क्षति भएको छ । बाढीले नेपाल–चीन जोड्ने सीमा–नाकाको मितेरी पुल नै बगाएको छ ।