Breaking

जेठ १५ गते राजावादीको निर्णायक आन्दोलन : प्रधानमन्त्रीलाई हेलिकोप्टरबाट भाग्ने मौका दिने लिङ्देनको दाबी 


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अबको आन्दोलन निर्णायक हुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने दाबी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने हेलिकोप्टरबाट भाग्ने मौका दिने उनको भनाइ छ । ‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’, लिङ्देनले भने ।

गत चैत १५ गतेको आन्दोलन हिंसात्मक बनेपछि केही समय राजावादीहरु मौन बसेका थिए । तर, यहीबीचमा पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता देखाउदै राजावादीहरुलाई एक ठाउमा उभ्याएका छन् ।

नगरकोटमा १२ दिन बसेर राजावादी नेताहरुसँग शाहले छलफल गरेपछि फेरि राजावादी पछिल्लो समय हौसिएका छन् । जेठ १५ गते वारपारको आन्दोलन गर्ने राजावादीहरूको घोषणा छ ।