Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अर्थनीति

आवको ९औं महिनाः विकास खर्च गर्नुपर्ने रकम ७० प्रतिशत भन्दा धेरै बाँकी


काठमाडौं । चालु आर्थिक वर्ष २०८/१८२ को ९औं महिना कट्दा विकास बजेट १ खर्ब नाघेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । जुन यस वर्ष सरकारले लिएको लक्ष्यको तुलनामा मात्र २९.२ प्रतिशत हो ।

सरकारले यसवर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बराबर विकास खर्च विनियोजन गरेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा खर्च गर्नुपर्ने रकम भने ७० प्रतिशत भन्दा धेरै बाँकी छ । यसले सरकारको विकास प्राथमिकता माथि प्रश्न खडा गरेको छ । सरकारले पछिल्ला आर्थिक वर्षहरूमा पूँजीगत खर्चको ६० प्रतिशत हाराहारी मात्र खर्च गर्न सकेको देखिन्छ । अर्थ मन्त्रालयले विकास बजेट खर्च गर्न नसक्ने भए बाँकी बजेट सरेन्डर गर्न विकासे मन्त्रालयहरूलाई भनिसकेको छ । उता, समग्र बजेट खर्च भने झन्डै १० खर्ब पुगेको छ ।

कुल बजेट खर्च ९ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ५३.६७ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।

उता राजस्व संकलनमा भने सरकारले लक्ष्य भेटाउन असफल भएको छ । चैतसम्म १० खर्ब माथिको राजस्व संंकलनको लक्ष्य रहेकोमा ८ खर्ब ४० अर्ब रुपैयाँ हाराहारी मात्र राजस्व उठेको छ ।

यस्तै, चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागले चैत महिनामा मात्रै १३ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा झण्डै दोब्बरले वैदेशिक लगानी स्वीकृत भएको हो।