Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात


 उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए । “गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ”, उनले भने ।

साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् । स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।