Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राजावादीमाथि प्रहरीको ‘सर्च अप्रेसन’, तीनकुनेका भिडियो हेर्दै धमाधम पक्राउ


प्रहरीले तीनकुने घटनामा अनावश्यक बल प्रयोग गरेको भन्दै चौतर्फी विरोध भइरहँदा त्यसलाई कन्ट्रोल गर्न प्रहरीले सक्रियता बढाएको छ । शान्ति सुरक्षामा चुकेको प्रहरीले प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गर्नेलाई धमाधम नियन्त्रणमा लिन थालेको हो ।

चैत १५ गते तीनकुनेको आन्दोलनमा शान्ति सुरक्षा दिन चुकेको नेपाल प्रहरी आक्रामक देखिएको छ । आफ्नो जिम्मेवारीमा चुक्दा आन्दोलनले हिंसात्मक रुप लिएपछि चौतर्फी आलोचनाको सिकार बनेको प्रहरी अहिले भने अवाञ्छित गतिविधिमा संलग्नहरुलाई धमाधम नियन्त्रणमा लिइरहेको छ । तीनकुनेमा प्रहरीले ज्यादती गरेको भिडियो फुटेजहरू बाहिरिएपछि डिपफेकको बहानामा झुट बोलेर ढाकछोप गर्ने खोजेको प्रहरी अनुसन्धानमा भने चुस्तदुरुस्त भएर लागेको छ । आन्दोलनका नाममा लुटपाट र डकैती जस्ता निन्दनीय कार्यमा संलग्नको खोजीमा प्रहरीले तिव्रता दिँदा दैनन्दिन फरार अभियुक्तहरू पक्राउ परिरहेका छन् ।
सोमबार तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा अनिता कुँवर (एनी)सहित ६ जना पक्राउ परेका थिए । ट्राफिक लाइट तोडफोड र जडीबुटी प्रशोधन उद्योगमा आगजनी गरेको कसुरमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङलाई समेत पक्राउ गरेको छ । तामाङमाथि प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले दिएको तथ्याङ्क अनुसार अहिलेसम्म एक सय ६८ जना पक्राउ पर्दा ९५ जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको छ भने अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका ७३ जनामाथि मुद्दा चलेको छ । उनीहरूमाथि आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतको मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

आफ्ना कुरा राख्न जम्मा भएको सभामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र घातक हातहतियार प्रयोग गरेकोमा प्रहरीको चौतर्फी विरोध भएको छ । यस्तोमा थप ड्यामेज हुनबाट बच्न घटनामा संलग्न आरोपीहरूलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय भएर लागेको हो । तर, यति हुँदाहुँदै पनि तीनकुने प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईं अझै फरार छन् ।

प्रसाईं फरार रहेकै कारण उनका दाई राकेश प्रसाईंलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, राप्रपाले पक्राउ परेका आफ्ना नेताहरुलाई छुटाउन सडकबाटै दबाब दिइरहेकै बेला वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित २० जनाविरुद्ध अनुसन्धानका लागि १५ दिनको म्याद थप भएको छ । प्रहरीले अनुसन्धानका लागि समय थप गर्न जिल्ला अदालत काठमाडौंमा उनीहरुलाई मंगलबार उपस्थित गराएको थियो ।

भाटभटेनी लुट्नेलाई नियन्त्रणमा लिन सक्ने तर, सरकारी सम्पत्ति र जडीबुडी जस्ता कार्यालयमा लागेको आगजनीमा संलग्नलाई पक्राउ गर्न नसकेको आलोचनाकाबीच प्रहरीले सरकारी सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई धमाधम नियन्त्रणमा लिएको हो । दबावमा रहेको प्रहरीले सामाजिक सञ्जालमा आएको फोटो भिडियोलाई अनुसन्धानको माध्यम बनाएर पक्राउ गरेको हो । अनुसन्धानलाई सहयोग गर्न आमनागरिकसँग पनि प्रहरीले अपील गरेको थियो ।

तीनकुने घटनासँग सम्बन्धित आफूसँग भएका फोटो, भिडियोहरू उपलब्ध गराउन आह्वान गर्दै अनुसन्धानमा मद्दत गर्न प्रहरीले सार्वजनिक अनुरोध नै गरेको थियो । तीनकुने घटनाका साथै विभिन्न घटनामा चुक्दा चर्को आलोचना खेप्नु परेको प्रहरीको पछिल्लो सक्रियताले भने आमनागरिकमा केही सकारात्मक सन्देश प्रवाह गरेको छ । यद्यपि, ती घटनामा प्रहरीकै कमीकमजोरीका कारण भएको मानवीय तथा भौतिक क्षतिको जिम्मेवारी लिनबाट पन्छिनुले भने प्रहरी संगठन पानीमाथिको ओभानो बन्न खोजेको आरोप लागिरहेको छ । साथै प्रहरी संगठन हाँकिरहेको नेतृत्वको छविमाथि पनि प्रश्न उठिरहेको छ ।