राजतन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंको बल्खुमा विरोधसभा ग¥यो । तीनकुने घटनापछि सुरक्षा संयन्त्रसमेत उच्च सतर्कतामा रहेको राप्रपाको बल्खु सभामा भने अपेक्षाकृत जनसहभागिता देखिएन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजावादीहरुले राजसंस्था फर्काउने भन्दै मंगलबार काठमाडौंको बल्ुखमा गरेको विरोध सभा तथा प्रदर्शन केही फितलो देखियो । कार्यक्रमको सुरुवातमा केही हजार भिड जम्मा भए पनि कार्यक्रम चलिरहँदा पातलिँदै जाँदा सानो संख्यामा खुम्चिएको थियो । चैत १५ गते तीनकुनेमा भएको घटनामा आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा राप्रपाले बल्खुमा विरोध सभा आयोजना गरेको हो । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका प्रमुख नेताहरूले सम्बोधन गरे। राप्रपाका शीर्ष नेताहरु उपस्थित सभामा उनीहरुले जुन अपेक्षा गरेका थिए त्यसअनुसार उल्लासमय नागरिकको सहभागिता देखिएन । प्रदर्शनमा सहभागी भएकामध्ये केहीले त यस्तै तरिका र भिडले राजा नफर्किनेसम्मको टिप्पणी गरे ।
बल्खुमा सभा सुरू गर्नुअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस तथा ¥याली निकालिएको थियो ।त्यसक्रममाउनीहरुले राजसंस्थाको पक्षमा चर्को नाराबाजीगरेका थिए । यस्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध नारा लगाइएको थियो । सहभागीहरुले नेपालको राष्ट्रिय झण्डाका साथै राप्रपाको झण्डा पनि बोकेका थिए ।
बल्खुमा भएको विरोध सभामा सहभागी राजावादीहरुले वर्तमान व्यवस्थाको विकल्पका रुपमा अबनवीन सम्झौताको बाटो खोज्नु पर्ने समय आएको बताए । हालको व्यवस्थामा देशको मियोको रुपमा कोही पनि नहँुदा भाँडभैलो र अराजकता मच्चिएकाले अब देशको अभिभावकको रुपमा राजा आउनुको विकल्प नभएको उनीहरुको तर्क छ ।
बल्खुमा आयोजित सभा सकिएपछि राप्रपाका नेता कार्यकर्ताहरुले आफैँ सडक सफा गरेका थिए । आन्दोलन तथा प्रदर्शनका कार्यक्रममा फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले आयोजकलाई जरिवाना गराउँदै आएको छ । सो विषयलाई राप्रपाले राम्रैसँग ख्याल गरेको देखियो । राप्रपा अध्यक्ष लिङ्देन स्वयम्ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देशसमेत दिए । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न आग्रह गर्दै उनलेसरसफाइका लागि स्वयंसेवक तथा कार्यकर्ताहरुलाई निर्देशन नै दिएका थिए ।
यस्तै, विरोध सभामा अध्यक्ष लिङ्देनले सत्तारुढ दल कांग्रेस–एमाले र सरकारविरुद्ध खरो टिप्पणी गर्न भ्याए । उनले बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्ने सामाथ्र्य आफूहरुमा रहेको उल्लेख गर्दै अहिले विभिन्न आरोपमा आफ्ना नेताहरुलाई थुन्ने सत्तारुढ दलका नेताहरु पनि जेल जाने अवस्था आउने चेतावनी दिए । त्यसका लागि अहिले नै सुविधाजनक जेलको व्यवस्था गरिराख्न आग्रह गरे । यस्तै, राप्रपाका अरु नेताहरुले तीनकुनेमा भएको घटना राज्यबाटै सुनियोजित रुपमा भएको दाबी गरे। राज्यले राजतन्त्र पक्षधरहरुलाई बद्नाम गर्न तीनकुने घटना घटाएको र त्यसको सबै जिम्मा लिनु पर्ने जिकिर गर्दै उनीहरुले थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई निःशर्त रिहा गर्नु पर्ने माग गरे।
७५ औँ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक वक्तव्य जारी गर्दै अब समय आएकाले आफूलाई साथ दिन आह्वान गरेका थिए । पूर्वराजा शाहको उक्त आह्वानपछि हौसिएका राजावादीहरुले सडक संघर्षमार्फत राजतन्त्र फर्काउने भन्दै पछिल्लो समय निरन्तर शक्ति प्रदर्शन गर्दै आएका छन् । राजावादीहरु सल्बलाउन थालेपछि गणतन्त्र पक्षधरहरु प्रतिकारात्मक रुपमा प्रस्तुत भइरहेका छन् । यद्यपि, सानोतिनो हावा हुन्डरीले राजतन्त्र फर्किन सम्भव नरहेको भन्दै गणतन्त्र पक्षधरहरु पनि एकजुट भइरहेको अवस्थामा राप्रपा र अन्य राजावादीहरु भने आफ्नो दबाब बढाउन शक्ति वृद्धिको कसरतमा जुटिरहेका देखिन्छन् ।
प्रतिक्रिया