गायक प्रकाश सपुत निर्देशित चलचित्र ‘वसन्त’ चैत २२ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । वसन्त चलचित्रमार्फत सपुतले पहिलो पटक चलचित्र निर्देशनमा पाइला चालेका हुन् । पहिलो दिनमै सबैभन्दा बढी ‘शो’ यो चलचित्रले कस्तो व्यापार गर्ला ? भन्ने चासो पनि उत्तिकै छ ।
गायक प्रकाश सपुतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपुतले पछिल्लो समय चलचित्र निर्माण गरेका छन् । उनै गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो चलचित्र ‘वसन्त’ चैत २२ गते (शुक्रबार)देखि देशव्यापी प्रदर्शनमा आएको छ । चलचित्र वसन्तले देशभरका हलहरुमा सबैभन्दा बढी ‘शो’ पाएको छ । यसरी फिल्म हलले सबैभन्दा बढी शो दिइरहँदा दर्शकको प्रतिक्रिया पनि आउन थालेको छ ।
डरैडरका बीच देशभर प्रदर्शनमा आएको वसन्तलाई यस पटक भने निकै अफ्ठ्यारो पर्ने देखिन्छ । नेपाली सिनेमा हलहरुमा अहिले सर्वाधिक रुचाइएको नेपाली महिला फुटबलर एञ्जिला सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ पनि प्रदर्शनरत अवस्थामै छ । माउथ पब्लिसिटी र नेपाली महिला खेलाडीको बायोग्राफीमा बनेको भएकाले चलचित्र अञ्जिला दर्शकको राम्रो साथ पाइरहेको छ । जसले गर्दा वसन्तले अञ्जिलासँग मात्रै नभएर सलमान खान अभिनित हिन्दी चलचित्र ‘सिकन्दर’, ‘स्नो ह्वाइट’ का साथै नेपाली चलचित्रहरु ‘आउट ल’, ‘लाज शरणम्’ र ‘होस्टेल ३’ संग पनि प्रतिस्पर्धा गर्नुपर्ने छ । ठूला ब्यानरहरुबाट बनेका यी चलचित्रहरुको पनि राम्रै अकुपेन्सी रहेकाले वसन्तका लागि हलमा खरो रुपमा प्रस्तुत हुनु पर्ने चुनौती रहेको छ ।
चलचित्रमा प्रकाशका साथै स्वस्तिमा खड्कासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ । निखारिएकाण् कलाकारहरुको अभिनय रहेको चलचित्र वसन्तले अन्य चलचित्रहरुका साथै दर्शक तान्न पनि प्रतिस्पर्धा गर्नु पर्ने देखिएको छ । चलचित्र वसन्त प्रदर्शनको संघारमा रहेका बेला केही दिनअघि मात्रै एउटा पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गर्दा सपुतले तीव्र आलोचना खेप्नु परेको थियो ।
जसले उनीविरुद्धको माहोल बन्दा त्यसको प्रभाव चलचित्र वसन्तलाई समेत पर्ने आकलन भइरहेको छ । कतिपयले सपुतका साथै उनले निर्माण गरेको चलचित्रलाई समेत बहिस्कार गरौँ भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका थिए । पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमनत्री ओलीको आत्मविश्वास, ऊर्जा र उमेरभन्दा बढी युवा सोच रहेको बताएका थिए । प्रधानमन्त्री ओलीको जीवनी सबैका लागि प्रेरणादायी रहेको भन्दै मुक्तकण्ठले तारिफ गरेका प्रकाशका लागि अहिले आफ्नै अभिव्यक्ति गलपासो बनिरहेको छ ।
सपुतमाथि दलितको मुद्दालाई मागी खाने भाँडो बनाएको आरोप बेलाबेलामा लाग्ने गरेको छ । नेपाली समाजमा अझै पनि जातीय भेदभाव कायम रहेको र त्यसलाई चिर्न आवश्यक रहेको विषयलाई उनले आफ्ना गीत संगीत तथा भिडियोहरुमार्फत प्रस्तुत गर्ने गरेका छन् । जात प्रणालीकै कारण समाजमा हुने विभेदको सिकार हुनु परेको भन्दै कतिपय ठाउँमा उनले गुनासो गर्ने गरेका छन् । खासगरी उनका गीत र भिडियोको कथावस्तुले सामाजिक, राजनीतिक र सांस्कृतिक बहस निम्त्याउँदै आएको छ ।
कतिपयले उनलाई जनयुद्धको अपमान गरेको वा सस्तो लोकप्रियताका लागि संवेदनशील विषय छोएकोसमेत आरोप लगाएका छन् । यस्ता आरोप र आलोचनाकै कारण कतिपय अवस्थामा अरु मानिसहरुको अगाडि उभिन आफूलाई असहज महसुस हुनेको पीडा सपुत आफैँले व्यक्त गर्ने गरेका छन् ।
विवाद र आलोचनाकै बीच उनको चलचित्र वसन्त सिनेमा हलहरुमा शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।
यो चलचित्रमा पनि नेपाली समाजमा रहेको जातप्रथाका कारण उत्पन्न समस्यालाई देखाइएको छ । छुवाछुतका कारण प्रेममा हुने अवरोध, त्यसले प्रार्ने प्रभाव र परिणाम चलचित्रको कथा वस्तुमा समेटिएको छ । छुवाछुत अन्त्यका लागि सशस्त्र द्वन्द्वमा हिँड्नु परेको बाध्यात्मक अवस्थालाई पनि चलचित्रले समेटेको छ । यद्यपि, उनको पहिलो निर्देशन रहेको चलचित्र ‘वसन्त’ ले मिश्रित प्रतिक्रिया पाइरहेको छ । कतिपयले यसको सामाजिक कथा र प्रस्तुतिको प्रशंसा गरेका छन् भने कतिपयले पुरानै विवाद जोडेर नकारात्मक टिप्पणी पनि गरिरहेका छन् । जसले गर्दा वसन्तले नेपाली सिनेमा उद्योगमा बलियो छाप छाड्दै ब्लकबस्टर व्यापार गर्न सफल हुन्छ वा औषध रहन्छ ? त्यो हेर्न भने अझै केही दिन कुर्नै पर्ने देखिन्छ ।
प्रतिक्रिया