तीन महिनापछि कार्यालयमा हाजिर हुन जान लागेका काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको गाडीमा महानगर प्रहरीले ‘ह्वील लक’ गरिदिएको छ ।
मेयर बालेन साहका स्वकीय सचिव भुपदेव साहको निर्देशनमा नगर प्रहरीले प्रशासकीय अधिकृतको गाडीमा ह्विललक गरेको महानगर गेटमा जम्मा भएका कर्मचारीले बताए । प्रशासकीय अधिकृत गुरागाईँलाई लिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जान लाग्दा गाडीमा लक गरिएको महानगर कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउदले बताए ।
प्रशासकीय अधिकृतलाई हाजिर गराउन महानगरका प्रवक्ता नवीन मानन्धरसहितका वडाध्यक्षहरू कार्यालय पुगेका छन् । महानगरलाई जनप्रतिनिधिले चलाउनुपर्नेमा नगर प्रहरीबाट चलाउन खोजिएको साउदले बताए । प्रशासकीय अधिकृत र कर्मचारीलाई छेक्ने महानगर प्रहरीमाथि कार्यपालिका बैठकबाट कारवाही गराउने चेतावनीसमेत कर्मचारीले दिएका छन् ।
मेयर बालेन साह महानगरको समस्या समाधानको साटो बाहिरै बसेर स्टाटस लेखेर महानगर चलाउन खोजेको आरोप साउदले लगाए । उनले मेयरले कहिल्यै कर्मचारीसँग भेट्न र समस्याबारे छलफल गर्न नखोजेको बताए । कर्मचारीहरुले ३५ सय कर्मचारीको समस्या समाधानमा मेयरले बेवास्ता गरेको बताएका छन् ।
प्रतिक्रिया