Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

तीनकुने घटना : सुरेश रजकको पोस्टमार्टमदेखि अन्त्येष्टिसम्म


गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ ।त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

झन्डै एक दशक सञ्चार पेशामा योगदान दिएका २९ वर्षीय सुरेश रजकको अल्पआयुमै भएको अस्वभाविक मृत्युले सिंगो रजक परिवार शोकाकुल बनेको छ । घरको एउटा दरिलो खम्बा राजावादी आन्दोलनको चपेटामा परेर ढल्दा परिवार र आफन्त विक्षिप्त छन् । स्वभाविक मृत्युलाई सबैले स्वीकार्नुको विकल्प छैन तर सुुरेशको अस्वभाविक र रहस्यमय मृत्युले परिवारमा थप पीडा थपिएको छ । साथै राज्यले अविभावकत्व निर्वाह गरी मृत्युको सत्यतथ्य ५ दिन बितिसक्दा पनि बाहिर ल्याउन नसक्नुले रजक परिवारको घाउमा मलहम लगाउनुको साटो पीडा थप्ने काम गरेको छ । हजारौँघटनालाई आफ्नो क्यामेराको फ्रेममा कैद गरेर पर्दाफास गरेका सुरेशको आफ्नै रहस्यमय मृत्युले अनुउत्तरित थुपै्र प्रश्न र जिज्ञासा उब्जाएको छ ।

जसलाई राज्यले यथाशीघ्र न्योचित र स्वतन्त्ररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारसँग गरेपछि बुधबार उनको अन्तिम संस्कार गरिएको छ । त्रिवि शिक्षण अस्पतालबाट चौमतीसम्म रजकको शव यात्रा गरियो । अन्तिम संस्कारमा उपस्थित सबैको आँखा आँसुले भिजेका देखिन्थे । परिवारका सदस्यहरु भावविवहल बनेका थिए ।

चैत १५ गते तीनकुनेस्थित एक घरमा आन्दोलनकारीले आगजनी गर्दा उनको मृत्यु भएको थियो । मृत अवस्थामा भेटिएका सुरेशलाई गोली हानेर जलाइएको भन्ने आशंका धेरैले गरेका थिए । तर बुधबार गरिएको पोस्टमार्टम रिपोर्टमा सुरेशको जलेर मृत्यु भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार सुरेशको शरीरमा गोली नलागेको खुलेको छ । बाहिर हल्ला भएजस्तो मारेर जलाइएको भन्ने कुरा पोस्टमार्टम रिपोर्टमा नदेखिएको चिकित्सकको भनाइ छ ।

शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइएको र शरीरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् । आगोले जलेरै उनको मृत्यु भएको अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले बताएका छन् ।

आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए । मंगलबार परिवारका सदस्यलाई मेसिन बिग्रिएको भनेर घर पठाए पछि राति ९ बजे गरिएको एक्सरेरिपोर्टमा गोलीको निसाना वा कुनै चोटपटक नदेखिएको अस्पतालले बताएको थियो । तर परिवारका सदस्यले आफूहरुको अनुपस्थितिमा गरिएको एक्सरेमा आशंका उब्जाएपछि बुधबार फेरि एक्सरे गरिएको थियो ।

दोस्रो पटकको एक्सरेमा पनि कुनै चोटपटक नदेखिए पछि पोष्टमार्टम गरेर परिवारलाई शव बुझाइएको हो । एक्सरे रपोस्टमार्टम रिपोर्टमा गोली लागेको नदेखिएपछि शव बुझेको परिवारले भने राज्यले विभिन्न षड्यन्त्र गरेको आशंका व्यक्त गरेका छन् । सत्यतथ्य बाहिर आउछ भन्ने अब आफूहरुलाई विश्वास नभएको परिवारका सदस्यले बताएका छन् ।

आगोमा जलेको सुरेशको शवको अवस्था हेर्दा कुनै पनि कोणबाट मृत्युको कारण आगोले जलेर भएको हो भन्ने विश्वास गर्न नसकिने आफन्तको भनाइ छ । मृत्यु भएको ५ दिनसम्म पनि सरकारले गम्भीरतापूर्वक नलिनु र छानबिन समिति नबनाउनुले सरकारप्रतिपूर्ण विश्वास गर्न नसकिने उनीहरु तर्क गर्छन् । सुरुमा चिकित्सकले एक्सरे उपकरण बिग्रिएको भनेर परिवारका सदस्यलाई घर पठाए पछि एकाएक गोलीको कुनै निसाना देखिएन भनेर रिपोर्ट आउनु नै शंका गर्ने ठाउँ भएको आफन्तको तर्क छ । प्रधानमन्त्रीले तपाईंहरुको सबै माग सम्बोधन हुन्छ भनेले त्यसमा आफूहरु विस्वस्त भएको उनीहरु बताउँछन् ।

रजकको मृत्युमा राज्य दोषी रहेको रास्वपाका सांसद मनिष झाको दाबी छ । उनले शान्तिसुरक्षा दिने काम राज्यको भएको तर चार हजार संख्यामा रहेको राजावादीको भेलालाई व्यवस्थापन गर्न नसक्नु र मृतक पत्रकार सुरेश रजक जलिरहेको प्रहरीलाई जानकारी गराउँदा पनि समयमा उपस्थित नहुनुले त्यसमा राज्य दोषी रहेको उनी बताउँछन् ।

पत्रकार सुरेश रजकको भौतिक शरीर नरहे पनि विभिन्न आशंकाको जवाफ राज्यले दिनु पर्ने देखिन्छ । आगजनी भएको सो घरको कोठामा रहेका अरु भागेर निस्कन सक्ने तर सुरेश मात्र किन निस्कन सकेनन् ?आगोको लप्काले जल्दै गर्दा चिच्याउन, कराउन सक्थे, हाम फाल्न सक्थे? तर त्यस्तो केही गरेको देखिँदैन ।सत्यतथ्य अनुसन्धान गरेर दोषीलाईकारबाही गर्नु पर्ने परिवारको माग छ । यो घटनालाई राजावादी र गणतन्त्रवादीले कसैले पनि अपनत्व लिएका छैनन् ।

बरु एकलेअर्का माथि दोषारोपण गर्ने काम भइरहेको छ । तीनकुनेघटनामा हालसम्म पत्रकार रजकसहित दुई जनाले ज्यान गुमाएका छन् । त्यसक्रममा २० जनामाथि गोली लागेको नेपाल प्रहरी स्वयमले पुष्टि गरेको छ । २ महिला र १८ पुरुष गोली लागेर घाइते भएका छन् भने १३ जना अझै अस्पतालमा उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ । तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई १०÷१० लाख दिने सरकारले निर्णय गरेको छ । तर मृतकका आफन्तले भने पैसाभन्दा सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिरहेका छन् । सत्यतथ्य बाहिर आउने आशमा परिवार रहेका छन् । परिवारका सदस्य गुमाए पनि दोषीमाथि कारबाही हुने र न्याय पाउने उनीहरुको प्रतीक्षा कहिले पूरा हुन्छ ? त्यो भने हेर्न बाँकी छ ।