Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

बेपत्ता दुर्गा प्रसाईं, खटियो विशेष ब्युरो


चैत १५ गते भएको तीनकुने घटनाको मुख्य नाइके दुर्गा प्रसाईं अझै फरार छन् । प्रहरीको सुरक्षा घेराभित्रैबाट भागेका प्रसाईं प्रहरीको उच्च खोजीको सूचीमा छन् । सिंगो राज्यले नै खोजी रहेका उनी हाल कहाँ छन् ? भन्ने विषय सवत्र्र चासोमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै छत्रछायाँमा हुर्किएका दुर्गा प्रसाईं एकाएक मेचीपुलमा पूर्वराजालाई उतारेर गणतन्त्रवादी कित्ता छाडेर राजावादी बनेका थिए । गणतन्त्रवादी ओली र प्रचण्डलाई गलहत्यार पूर्वराजालाई काँध हाल्न पुगे । ओली–प्रचण्डसँगको निकटताकै कारण एकाएक राजनीतिक हाइप बटुलेका प्रसाईं छोटो समयमा दरबारले पत्याउने पात्र बने । उग्र राजावादी बनेका प्रसाईंलाई दरबारले यतिसम्म पत्यायो कि राजसंस्था फर्काउने आन्दोलनको जनकमान्डर नै तोक्यो । तर चैत १५ गते राजावादीको सभास्थलमा जनकमान्डरको इन्ट्रीसँगै प्रदर्शनले उग्ररुप लिएको थियो । तीनकुनेबाट नयाँ बानेश्वरतर्फको प्रहरीको घेरा तोड्न उनले सडकमा बार बनेर उभिएका सुरक्षाकर्मीमाथि नै गाडी हुइँक्याए ।

समर्थकहरुलाई आफूसँगै आउन आह्वान गर्दै प्रहरीमाथि गाडी कुदाउन खोजेपछि सुरुमा बल प्रयोग गरेका सुरक्षाकर्मीको एउटा दस्ता बाटो छोड्न बाध्य भयो । शान्तिपूर्ण आन्दोलन जनकमान्डरकै बलजफ्तीले उग्र बनेपछि एकाएक तीनकुने क्षेत्र रणभूमि बन्यो । व्यवसायिक भवनमा आगजनी र तोडफोड भए भने भने दुई जना नागरिकको ज्यान गयो । उक्त आन्दोलनमा प्रदर्शनकारीलाई उक्साउने काम गरेको आरोपमा राप्रपाका नेताद्वय धवल शमशेर राणा र रविन्द्र मिश्रसहित एक सयभन्दा बढी राजावादी प्रदर्शनकारी पक्राउ परे । हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले खोजी खोजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिने काम ग¥यो । योसँगै प्रहरीले आन्दोलनका कमान्डर प्रसाईंलाई पक्राउ गर्न खोजे पनि आन्दोलनस्थलबाटै भागेका उनी हालसम्म फरार छन् । आफू नभाग्ने र जहाँ बोलायो त्यहीँ आउने भन्दै चेतावनी दिएका प्रसाईं आफ्ना सहयोगीहरुको सहयोगमा भागेका थिए । उनी भागेर कहाँ गए ? भन्ने अहिलेसम्म प्रहरीले अत्तापत्तो पाउन सकेको छैन ।

उनकै शब्दलाई सापटी लिने हो भने ‘मा कसम भाग्दै भाग्दिनँ’ भनेका प्रसाईं भागेर भगवानको शरणमा पुगेका छन् । बेपत्ता प्रसाईं गत आइतबार एकाएक एउठा भिडियोमा झुल्किए । आफ्नै फेसबुक पेजमार्फत एउटा भिडियो पोस्ट गरेका उनले आफू नभागेको तर ज्यान जोगाउन काठमाडौंकै कुनै एउटा मन्दिरमा बसेको बताएका थिए ।

उनी भागेर भारत पुगेको भन्नेसम्मको चर्चा भइरहेको अवस्थामा उनले उक्त भिडियोमा काठमाडौंकै कुनै एक मन्दिरमा रहेको बताउनुले तीव्र रुपले उनको खोजी गरिरहेको प्रहरी प्रशासनका लागि भने चुनौती बनेको छ । प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रसाईं भाग्दै हिँडेको प्रति स्वयम राजावादी नेताहरुले समेत असन्तुष्टि जनाएका छन् । आन्दोलनका कमान्डर भागेर हिँड्न नहुने बरु आफैं पक्राउ पर्नु पर्ने उनीहरुको भनाइ छ ।

आन्दोलन स्थलबाट भागेका प्रसाईंलाई समात्न नसक्दा अहिले सरकारमाथि प्रश्न तेर्सिरहेको छ । उनले यति उपद्रो गर्छन् भन्ने आकलन सुरक्षा संयन्त्रले गर्न नसक्नु र गृहमन्त्रालयको प्रभावकारी भूमिका नदेखिएको भन्दै सरकारको आलोचना भइरहेको हो ।

राजा फर्काउने जनआन्दोलनका कमान्डर आफैँ फरार भएपछि राजावादीहरु केही अलमलमा परेका देखिन्छन् । साथै नेपाल प्रहरीले समेत उनको खोजीमा नयाँ रणनीति अवलम्बन गरेको छ । उनको खोजीका लागि प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष ब्युरोको कमान्डमा काम सुरु गरेको छ । प्रहरीको ध्यान मोड्न उनी भारत छिरेको हल्ला चलाइए पनि प्रसाईं नेपाल भित्रै रहेको प्रहरी अनुसन्धानकर्ताहरुको अनुमान छ । उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली परिचालित थियो । तर दुई दिनयता सो टोलीले प्रसाईंको खोजी कार्य बन्द गरेको छ भने प्रहरीको विशेष ब्युरोले जिम्मा लिएको अनुसन्धान कार्यालयका एक अधिकृतको भनाइ छ ।

प्रसाईंको खोजीका क्रममा गरिएको सीसीटिभी फुटेजको अध्ययन, उनले चलाउने विभिन्न किसिमका विद्युतीय उपकरणका आधारमा अनुसन्धान गर्दै खोजी तीव्र पारिएको छ । आफू नेपालमा नै रहेको भन्दै सामाजिक सञ्जाल मार्फत भिडियो जारी गरेका प्रसाईंले राज्य र सुरक्षा निकायलाई नै चुनौती दिएका छन् । प्रसाईंले सार्वजनिक गरेको भिडियोको दृश्य लगायतका विषय सुक्ष्म ढंगले विश्लेषण गर्दा उनी भारत वा तराईंमा लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । यता, तीनकुने घटनाको भोलिपल्ट गृहमन्त्री रमेश लेखकले घटनास्थलको अनुमन गरेका थिए । त्यसक्रममा उनले प्रसाईं चाँडै पक्राउ पर्ने जनाएका थिए । तर उनी फरार भएको पाँच दिनसम्म पनि पक्राउ पर्न सकेका छैनन् । यद्यपि, ढिलो चाँडो उनी पक्राउ पर्नेमा सरकार ढुक्क देखिन्छ भने उनको पक्राउले राजावादीलाई ठूलो धक्का पुग्ने विश्लेषण पनि भइरहेको छ ।