अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरेमा बम विस्फोट गराउने धम्की दिएका छन् । धम्की पछि इरानी सेनाले अमेरिकी आक्रमणको जवाफ दिन आफ्नो क्षेप्यास्त्रहरू पूर्णरुपमा तैनाथ गरेको छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण देखिन्छ । धम्की, नाकाबन्दी र तिक्तताकै बीच झण्डै चार दशक समय बितिसकेको छ । तर सम्बन्धमा सुधार हुने बिलकुल देखिँदैन । अझ पछिल्ला दिनहरुमा त इरान र अमेरिका बीच सङ्कटपूर्ण स्थिति सिर्जना भएको छ भन्दा फरक पर्दैन ।
सधैँ धम्की र तनावपूर्ण रहने यी दुई देशबीच पुनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरेमा बम विस्फोट गराउने धम्की दिएका छन् । ट्रम्पले त्यति मात्रै होइन । इरानमाथि द्वितीय अतिरिक्त महसुल लगाउने धम्की पनि दिएका छन् । आइतबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने बम विस्फोट हुनेछ । यस्तो बमबारी हुनेछ, जुन उनीहरूले पहिले कहिल्यै देखेका छैनन् ।’ ट्रम्पले आगाडि भनेका छन्, ‘इरान सँग मौका छ, यदि उनीहरूले यसो गरेनन् भने, म उनीहरूमाथि चार वर्ष पहिले जस्तै द्वितीय अतिरिक्त महसुल लगाउनेछु ।’
अमेरिकी र इरानी अधिकारीहरू आणविक कार्यक्रमबारे वार्ता गरिरहेका छन् । यद्यपि, उनले यसबारे विस्तृत रूपमा अरू केही भनेका छैनन् । यता इरानका सर्वोच्च नेता आयोतुल्ला अली खामेनेईले सोमबार अमेरिकाले ठूलो झट्का बेहोर्ने बताएका छन् । उनले भनेका छन्, ‘उनीहरूले हामीलाई आक्रमण गर्ने धम्की दिएका छन्, जुन हामीलाई लाग्दैन कि खासै सम्भव छ । तर केही नराम्रो गरे भने उत्तिकै जोरदार झट्का उनीहरूले पनि पाउनेछन् ।’ विगतमा जस्तै देशभित्र विध्वंश मच्चाउने उनीहरूले सोचिरहेका छन् भने पनि इरानी जनता आफैँले उनीहरूलाई प्रतिकार गर्ने पनि उनले बताए । यसैबीच, इरानी सेनाले अमेरिकी आक्रमणको जवाफ दिन आफ्नो क्षेप्यास्त्रहरू तैनाथ गरेको छ । तेहरान टाइम्सले छापेको समाचारका अनुसार इरानका सबै मिसाइलहरू (भूमिगत मिसाइल) शहरमा लन्चरहरूमा लोड गरिएको र प्रक्षेपणको लागि तयार छन् । ‘प्यान्डोराको बक्स खोल्दा अमेरिकी सरकार र यसका सहयोगीहरूले ठुलो मूल्य चुकाउनुपर्नेछ,’ तेहरान टाइम्सले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा लेखेको छ ।
सरल शब्दमा भन्नुपर्दा, ‘प्यान्डोरा बक्स खोल्नु भनेको धेरै समस्याहरू निम्त्याउने र रोक्न गाह्रो हुने कुरा सुरु गर्नु भएको पनि भनिएको छ ।’ अमेरिकासँग प्रत्यक्ष सम्झौता गर्न ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे प्रत्यक्ष वार्ताका लागि पत्र लेखेका थिए । तर इरानी राष्ट्रपतिले यो प्रस्ताव अस्वीकार गरे । इरानी राष्ट्रपति मसूद पेजास्कियानले आइतबार अमेरिकासँग कुनै पनि प्रत्यक्ष सम्झौता नगर्ने बताएका छन् । दुई देशबीच प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गरिएको पेजेस्कियानले बताए । तर ट्रम्प अप्रत्यक्ष वार्तामा सहमत हुन्छन् कि हुँदैनन् भन्ने कुरा स्पष्ट छैन । सन् २०१८ मा ट्रम्पले अमेरिकालाई इरान आणविक सम्झौताबाट बाहिर निकालेपछि भएका अप्रत्यक्ष वार्ताहरू असफल भएका छन् । सन् २०१६ मा अमेरिकी चुनावबाट डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएपछि बाराक ओबामाले गरेको सम्झौतालाई एकतर्फी रुपमा उनले रद्द गरेका थिए । ट्रम्प प्रशासनले इरानलाई नयाँ नयाँ प्रतिबन्ध लगाउँदै गयो । कतिसम्म भने इरानसँग व्यापार गर्ने जो कोहीले अमेरिकासँग कारोबार गर्न नपाउने धम्की पनि उनले दिए ।
परिणाम स्वरुप इरानका कारण अमेरिका र युरोपेली कतिपय मुलुकबीच स्पष्ट मतभेद देखियो । युरोपेली युनियनको इरानसँग भएको परमाणु सम्झौतालाई जोगाउन अनेकन प्रयास गरियो तर त्यसका लागि ट्रम्प तयार भएनन् । इरानी क्रान्तिपछि गएका चार दशकमा इरान र अमेरिकाबीच कयौँ अवस्थामा नाजुक क्षण पनि आए । अमेरिकाको अडान र इरानको प्रतिरोधले मध्यपूर्वमा तनाव बढ्ने संकेत गरेको छ ।
जसले तेलको मूल्यमा उतारचढाव ल्याउन सक्छ । यसले विश्व अर्थतन्त्रमा अस्थिरता निम्त्याउँछ, विशेषगरी ऊर्जा आयात गर्ने देशहरूलाई । साथै, क्षेत्रीय शक्ति सन्तुलन बिग्रँदा इजरायल र साउदी अरबजस्ता देशहरूसँग द्वन्द्व चर्किन सक्छ । रुस र चीनले इरानको पक्ष लिँदा अमेरिका र युरोपबीचको सम्बन्धमा पनि तिक्तता आउन सक्छ । परमाणु हतियारको होडबाजी बढेमा विश्व शान्ति र सुरक्षा खतरामा पर्नेछ भने दीर्घकालीन भूराजनीतिक संकट निम्त्याउन सक्छ । फलतः वार्ता मार्फत बढ्दो तनावको समाधान खोजिएन भने दुई देशबीचको वाकयुद्ध आणविक युद्धमा परिणत हुने विश्लेषणसमेत हुन थालेको छ ।
प्रतिक्रिया