Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

पुस्कर खतिवडाको घरमा फलफूल खाएर हिँडेका दुर्गा प्रसाईं कहाँ गए ?


काठमाडौं—राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनानिम्ति आन्दोलनका नाममा अराजकता मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै फरार छन् । शुक्रबार (चैत १५) राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।

प्रसाईं ‘जनआन्दोलन’ नाम दिएको प्रदर्शनका ‘कमान्डर’ तोकिएका थिए । प्रदर्शनका संयोजनक भने पूर्वमहापञ्च ८६ वर्षीय नवराज सुवेदी तोकिएका थिए । प्रदर्शन अराजक बनेपछि सुवेदी घरमै नजरबन्दमा छन् ।

शुक्रबारदेखि उनीहरूले निरन्तर राजासंस्थाका पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने बताएका थिए । तर, ‘कमान्डर’ प्रसाईं फरार भए । प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, अधिवक्ता स्वागत नेपाललगायत व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि के मुद्दा लगाउने भन्नेबारे प्रहरी गृहकार्यमा छ । मिश्र, राणा र नेपालसहित अराजक प्रदर्शन, तोडफोड, आगजनी र लुटपाट गर्ने १११ जनालाई प्रहरीले थुनामा राखी अनुसन्धान गर्न म्याद थपका निम्ति अदालतमा उपस्थित गराउने तयारी गरेको छ । प्रसार्ईंको खोजीमा प्रहरी शुक्रबार रातिदेखि नै लागेको छ ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका तीन जिल्लाका विशेष टोली, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत शनिबारदेखि प्रसाईंको खोजीमा सक्रिय छन् । तर, प्रहरीले उनको सुइँको पाउन सकेको छैन ।

प्रसाईंका गुरु पुस्कर खतिवडालाई जिल्ला प्रहरी परिसर ललितपुर र विशेष ब्युरोको संयुक्त टोलीले शनिबार पक्राउ गरेको छ । उनी ललितपुरको इमाडोलबाट ट्याक्सीमा भाग्दै गर्दा पक्राउ परेका थिए । उनलाई भेट्न प्रसाईं समेत शनिबार बिहान खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ ।

खतिवडाको घरमा फलफूल खाएर हिँडेका प्रसाईं कहाँ गए भन्नेबारे प्रहरीले कुनै सूचना पाएको छैन ।