काठमाडौं—धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो । छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुको पक्राउको माग गर्दै जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको छ ।
स्थानीयले ढुङ्गामुढा गर्दै प्रहरीलाई लखेटेका छन् । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन् । यद्यपि अहिलेसम्म विवरण आउन सकेको छैन । अहिलेसम्म कति सेल अश्रु ग्यास प्रहार भएको र घाइते भएको भन्ने विवरण एकिन नभएको धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए । घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् ।
प्रतिक्रिया