Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राजावादी र गणतन्त्रवादीको तुलना, तीनकुने उग्र बनेपछि भृकुटीमण्डपबाट प्रचण्डको काउन्टर


व्यवस्था जोगाउने र फाल्नेहरुको आन्दोलन सकिएको छ । आजको दिनलाई उनीहरुले निर्णायक शक्ति प्रदर्शनको रुपमा हेर्दा गणतन्त्रवादीहरु संवेदनशील र राजावादी उग्र बनेका छन् । समग्रमा कस्तो रह्यो त उनीहरुको आन्दोलन ?

राजावादी र गणतन्त्रवादीको आन्दोलनमा उनीहरुको विचारजस्तै आन्दोलनमा पनि फरकपन देखिएको छ । जहाँ वारपारको लडाईंमा रहेको बताउने राजावादी समूह उच्छृंखल र अराजक बन्दा समाजवादी मोर्चाको कार्यक्रम भने शान्त बन्यो । विभिन्न तथ्यांक र उपलब्ध फुटेजहरु हेर्दा उपस्थितिका हिसाबले गणतन्त्रवादी र माहोलका हिसाबले राजावादीको शक्ति बलियो देखियो ।

अर्थात, संख्याको हिसाबले राजावादीको आन्दोलन कमजोर देखियो । भलै यसमा राप्रपा लगायत दलहरुले खुलेर साथ नदिएको बताइन्छ । नत्र फागुन २५ गतेको भन्दा ठूलो शक्ति राप्रपाले देखाउन सक्नुपथ्र्यो । त्यसमा राजावादी असफल बने । भीड गणतन्त्रवादीकै पक्षमा देखियो ।

बिहानसम्म दुवै पक्ष निकै संयमित देखिएका थिए । सामान्य नाराजुलुस गरेर चेतावनीको भाषा बोल्ने दुवै पक्षको तयारी देखिन्थ्यो । किनकि बिहान ११ बजेसम्मको अवस्था हेर्ने हो भने राजावादीले तीनकुने र गणतन्त्रवादीले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा मञ्च बनाएका थिए ।
तर, दिउँसो एक बजेपछि तीनकुने क्षेत्रमा माहोल भड्कियो । जसको नेतृत्व दुर्गा प्रसाईंले गरेका थिए । राजावादी पार्टीका नेताहरु दुलो पस्दा प्रसाईं भने आफैँ गाडी चलाएर कमान्डरको भूमिकामा प्रहरीलाई पेल्दै सुरक्षा घेरा तोड्न तम्सिए ।

यहीँबाट प्रहरीले बल प्रयोग गर्न थाल्यो । राजावादी समर्थकले सुरुमा प्रहरीले अश्रुग्यास हानेका भवनमा तोडफोड र आगजनी गरे । पछि यो भिड अराजक बन्दै जाँदा व्यवसायिक ठूला भवन, मिडिया र डिपार्टमेन्टल स्टोरलाई तारो बनाउँदै आगजनी र ढुंगामुढा गर्न थाले ।

त्यसपछि सम्बोधन गर्न आएका नेता पनि एकाएक मञ्च छाडेर भाग्न थाले । प्रसाईंको शैली र योजना हेर्दा उनीहरु निषेधित क्षेत्र तोडेर संसद भवन कब्जा गर्ने गरी श्रीलंकाको बाटोमा जान चाहन्थे । तर, प्रहरी त्यो भिडलाई रोक्न सफल भयो । जसलाई गणतन्त्रवादीले राजावादी अराजक बनेको र गणतन्त्रवादी शान्त रहेको अर्थमा हेर्दा आफूहरुलाई संस्कारी भन्न मात्र भ्याएनन् । पूर्वराजालाई देशमा सम्मानका साथ राख्ने उदारतालाई कमजोरी नठान्न र चकचक गरे डाँडा कटाउनेसम्मका अभिव्यक्ति दिएका छन् ।

आन्दोलनको साढे चार घण्टासम्म प्रसाईं आन्दोलनस्थलमै थिए । उनकै उक्साहटमा यो सबै अराजकता मच्चिएकोमा संकोच छैन । अपराह्न चार बजेपछि प्रसाईंले आन्दोलन स्थल छाडेपछि अवस्था शान्त बनेको थियो । यता गृह मन्त्रलायले भने दुर्गाले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको आरोप लगाएको छ भने उनले पनि सरकारले तीनजनालाई मारेको हाकाहाकी आरोप लगाएका छन् । भलै यसमा दुबै पक्ष जिम्मेवार छ ।

किनकि बिहीबार मात्र प्रधामन्त्री केपी शर्मा ओलीले केही हजार मानिस निस्किने भन्दै परिस्थितिलाई सामान्य आँकेका थिए भने राजावादी समर्थकले समेत ठूला र सिसा लगाएका भवन देख्दैमा ढुंगा हान्ने दुबै प्रवृत्ति यो अवस्था आउनुमा जिम्मेवार देखिन्छन् । जसका कारण कोटेश्वर, गौशाला, तीनकुने क्षेत्रमा कफ्र्यु जारी हुँदा राजावादी शक्तिहरुले भने आन्दोलन अब सरकारले तोकेको घेरामा मात्र सीमित नरहने भनेका छन् ।

माओवादीले गणतन्त्रलाई रगतसँग साटेको व्यवस्थाका रुपमा अथ्र्याउँदा राजावादीहरुले पनि कुन चाहिँ जनआन्दोलन नेताको नियन्त्रणमा थियो ? भन्दै प्रश्न गरेका छन् । यसले अब व्यवस्थाको लडाईंलाई थप उत्कर्षमा पुुग्ने संकेत गर्दा राजावादीको फुट अर्को फ्याक्टर हो । जसले रगतको होली खेलेरै व्यवस्था परिवर्तन गर्ने र दुर्गा प्रसाईंको ताण्डपमा साथ दिन्छ वा दिँदैन ? पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं यस्ता गतिविधिमा कति लचक वा सहमत छन् ? यी र यस्ता विषयले धेरै ठूलो अर्थ राख्नेछ । अर्कोतर्फ गणतन्त्रवादीले भने व्यवस्थासँगै सरकारको समेत चर्को आलोचना गरेका छन् । तर, एमालेले माओवादीका यी अभियानलाई समर्थन गरिरहेको छ ।