मध्यपूर्वमा जारी इजराय हमास युद्ध झनै उग्र बन्दै गएको छ । युद्ध सुरु भएयता हमासका कमान्डरदेखि उच्च पदस्थ नेताहरुलाई इजरायली सेनाले छानीछानी हत्या गरिरहेको छ । हालसम्म को को परेका छन् त हमासका नेताहरु ?
मध्यपूर्वको आकाशमा यतिबेला बमको धुँवा र विष्फोटका आवाजले अशान्ति मच्चाइरहेको छ । गाजामा इजरायली सेनाले खोजी खाजेी हमासका नेताहरुको हत्या गरिरहेको छ । यसलाई लिएर विश्व समुदाय चिन्तित बनेको छ भने युद्धको चपेटामा परेका नागरिकहरु फेरि संकटको भूमरीमा परेका छन् । इजरायल हमासविरुद्ध पुनः आक्रामक बन्दा मध्यपूर्वी क्षेत्र पुरै अशान्त बनेको छ । जारी युद्धमा हमासका धेरै शीर्ष नेताहरु मारिएका छन् । इजरायली आक्रमणमा हालसम्म को को मारिए त हमासका शीर्ष नेता ?
गत साउन १६ गते प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिए । कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका थिए । इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए । उनी प्यालेस्टिनी अथोरिटीको १०औँ सरकारका प्रधानमन्त्री थिए ।
हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न हमासले दोहामा दुई दिन बैठक राखेको थियो । बैठकबाट याह्या सिन्वार नियुक्त भए । तर उनको पनि इजरायली सेनाले हत्या गरेको दाबी गरेको छ । उनको हत्या गाजामै भएको थियो । सिन्वार इजरायलले सर्वाधिक खोजी गरिरहेका व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा थिए ।
मारिने सूचीमा हमासका शीर्ष नेता मोहम्मद डेफ पनि छन् । डेफलाई गाजाबाट इजरायल छिर्न मिल्ने सुरुङ निर्माण गर्ने इन्जिनियर मानिन्छ । इजरायली सेनाले जुलाई १३ मा गाजा स्ट्रिपको खान यूनिसमा गरेको एउटा हवाई आक्रमणमा डेफको मृत्यु भएको पुष्टि गरेको थियो । हमासलाई सकाउने उद्देश्यका साथ गाजा प्रवेश गरेका इजरायली सेनाले गत मंसिरमा उत्तरी ब्रिगेडका कमान्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको हत्या गरेको थियो । घान्डोर हमासका शीर्ष कमान्डर थिए, जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सासमेत थिए ।
पछिल्लो पटक इजरायल झनै आक्रामक देखिएको छ । आइतबार मात्रै दक्षिणी गाजा सहर खान युनिसमा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविलका दम्पती नै मारिएका छन् । आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको पुष्टि भएको छ । विहीवार मात्रै हमासका प्रवक्ता अब्देल–लतिफ अल–कानौआको हत्या भएको थियो ।
हमासलाई सकाएरै छोड्ने कसम खाएको इजरायलले युद्धविराम समेत गर्न आनाकानी गर्दै आएको छ । केही दिनअघि छोटो समयका लागि युद्धविराम हुँदा गाजाबासीले राहत महसुस गरेका थिए । यसअवधिमा इजरायल र हमासबीच कैदीबन्दी तथा युद्ध बन्दक आदानप्रदान भएको थियो । अमेरिका, कतारलगायत देशको मध्यस्थतामा केही समय युद्धविराम भए पनि उक्त सम्झौता फेरि लम्बिन नसक्दा हमासविरुद्ध इजरायल थप आक्रामक रुपमा प्रस्तुत भइरहेको छ ।
७ अक्टोबर २०२३ बाट सुरु भएको युद्धले इजरायलततर्फ १२ सयभन्दा बढी मारिएका थिए भने साढे २ सयभन्दा बढी अपहरणमा परेका थिए । हमासमाथि कारबाही स्वरुप इजरायलले थालेको आक्रमणमा परी करिब ५० हजार प्यालेस्टिनीले ज्यान गुमाएका छन् । १ लाख १० हजारभन्दा बढी घाइते भइसकेका छन् । इजरायलतर्फ पनि करिब १४ सय जनाको ज्यान गएको छ । गाजाका ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् भने २० लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् । इजरायल हमास युद्धले गाजाको अवस्था झनै नाजुक बन्दै गएको छ ।
प्रतिक्रिया