काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवशेन आगामी वैशाखमा नहुने निश्चित भएको छ । तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारणले पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन नहुने भएको हो ।
१ र २ असोजमा बसेको राष्ट्रिय भेलाले २५, २६ र २७ २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । १२ मा बसेको केन्द्रीय समिति बैठकले महाधिवशेनको स्थानका लागि चितवन तय गरेको थियो । पूर्वनिर्धारित कार्यतालिका कार्यान्वयन भएको भए यो महिनामा पालिका र जिल्ला अधिवेशन सकिने थियो । तर, वडा तहको अधिवेशन अघि नबढ्दा पालिका संरचनाको अधिवेशनले गति लिन सकेको छैन । यसले समग्र तालिका नै प्रभावित भएको छ ।
महाधिवेशनकेन्द्रित छलफल गर्ने गरी अर्को साता रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । महाधिवशेन तोकिएकै समयमा गर्ने गरी विकल्पमा पार्टी भित्र अनौपचारिक छलफल भइरहेको छ ।
प्रतिक्रिया