Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

फुटेका राजावादी मिले, १५ गते आन्दोलन चर्काउने


राजसंस्था पुनस्र्थापना पक्षधरहरु एकढिक्का भएका छन् । आ–आफ्नो स्वार्थमा तितरवितर मात्र होइन आ–आफ्नो ढंगले सडक संघर्ष गर्दै आएका राजावादीहरु अब एकढिक्का भएर शक्ति प्रर्दशन गर्ने बाटोमा अग्रसर भएका छन् । राजावादीहरुको पछिल्लो गतिविधिका कारण वर्तमान व्यवस्था नै संकटमा पर्ने त होइन भन्ने विश्लेषण भइरहँदा राजावादीहरुको आन्दोलन आम चासोमा छ ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अब बेला भयो’ भन्दै देश बचाउन आफूलाई साथ दिन आह्वान गरे । आफूले गरेको त्यागलाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्रको चेतावनी थियो । त्यसपछि के चाहियो । हिन्दुराज्य र राजसंस्था पुनस्र्थापना गर्ने एजेन्डा बोकेका राजनीतिक दल र समूहहरु एकाएक सल्बलाउन थाले ।

शालिक अनावरण गर्न पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी कार्यक्रममा त ‘श्रीमान गम्भीर नेपाली’ पुरानो राष्ट्रिय गान नै गुन्जियो । फागुन २५ गते काठमाडौं ओर्लिएका पूर्वराजा शाहको स्वागतमा ठुलो भीड सडकमा उत्रियो । पूर्वराजाले सडकमा उत्रिएका आफ्ना समर्थकहरुलाई हात हल्लाएर सम्बोधन गरे ।

त्यसयता गणतन्त्रवादीहरु रक्षात्मक ढंगले प्रतिवादमा उत्रिँदै आएका छन् भने पूर्वराजा शाह धार्मिक गतिविधिमा सक्रिय भइरहेका छन् । फलतः केही दिन अघिमात्रै पुख्र्यौली थलो गोरखा पुगेर मनोकामना मन्दिरमा पूजाआजा गरे । राजावादी दल र समूहहरु पूर्वराजा शाहलाई गद्दीमा फर्काउने उद्घोषसहित चरणबद्ध आन्दोलनमा होमिएका छन् । सधैँ मतभेद र विभाजनमा गुज्रिरहेका राजावादीहरु अहिले भने आफ्नो अभियानलाई आक्रामक बनाउन एकढिक्का भएका छन् ।

हिन्दुराज्य र राजसंस्था पुनस्र्थापना मुख्य एजेन्डा भए पनि स्वार्थ केन्द्रित हुँदा आ–आफ्नै पसल थापेर बसेका राजावादी दल र समूहहरु चैत १५ गतेको आन्दोलनका लागि भने संगठित भएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपाल दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुने भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले चैत २६ गते विशाल प्रर्दशन गर्ने निर्णयसहित समान विचार भएका पार्टी तथा समूहलाई साथ लिएर अघि बढ्ने र वैशाख पहिलो हप्तादेखि आन्दोलनलाई व्यापक रूपमा लैजाने निर्णय गरेको छ । राप्रपाले चैत १५ गतेको आन्दोलनलाई समेत समर्थन गर्ने भएको छ ।

पूर्वराजाले ग्रिन सिग्नल दिएपछि हौसिएका राजावादीहरु आन्दोलनको नेतृत्व कसले गर्ने र जस कसले पाउने भन्ने स्वार्थले गिजोलिएका थिए । तितरवितर भएका थिए । राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन गर्न भन्दै राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित समितिले तय गरेको चैत्र १५ गतेको आन्दोलनलाई लिएर वादविवाद नै चलेको थियो । स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहको हुकुमबमोजिम बनेको भनिएको त्यही समितिमार्फत संयुक्त आन्दोलन अघि बढाउनुपर्ने पक्ष र विपक्षमा राप्रपाभित्र भाँडभैलौ नै चल्यो । तथापी अहिले भने राजसंस्था बोक्ने राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देखि राजावादी अभियन्ता दुर्गा प्रसाईंसम्मका व्यक्तिहरु एक ठाउँमा उभिएका छन् ।

सशक्त ढंगले आन्दोलन चर्काउने तयारीमा लागेको राजावादी र उनीहरुलाई निस्तेज पार्न गणतन्त्रवादीहरु वारपारकै अवस्थामा उत्रिए मुठभेडकै अवस्था आउने सम्भावना छ । पूर्वराजाकै सक्रियताले हौसिएका राजावादीहरु गणतन्त्रवादीहरुलाई घेराबन्दी गर्ने योजनासहित अगाडि बढ्ने रणनीतिमा छन् । सडक आन्दोलनकै बलमा जनताले फाली सकेको राजन्तत्र फर्काउने राजावादीहरुको सपना छ । यता व्यवस्था नै धरापमा पर्ने त होइन भन्ने डरमा रहेका गणतन्त्रवादीहरु धेरै चुरीफुरी गरे पूर्वराजालाई थुन्नेसम्मको योजनामा रहेको चर्चा छ । न शक्ति न सत्ता, तर सतही रुपमा हौसिएका राजावादीहरुको उक्साहटकै कारण पूर्वराजा भड्खालोमा पर्न सक्ने सम्भावनासमेत प्रबल बन्दै गएको छ ।