Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान भिडाउने कश्मीर मुद्दा पेचिलो बन्दै


संयुक्त राष्ट्रसङ्घमा जम्मू कश्मीरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच तनाव भएको छ । राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पी.ले जम्मू कश्मीर भारतको हिस्सा भएको र रहिरहने दाबी गरेपछि फेरि दुई देशबीच तनाव उत्पन्न भएको हो ।

कश्मीर विश्वमा सबैभन्दा बढी सैनिकीकृत क्षेत्रमध्ये एक हो । जहाँ भारत र पाकिस्तानजस्ता दुई परमाणु–शक्ति सम्पन्न देशको अतिसम्वेदनशील सीमारेखा पनि पर्छ । यहाँको सीमा क्षेत्रमा यी दुई देशका सीमा सुरक्षाकर्मीहरु कुनै पनि बेला युद्ध लड्न तम्तयार भएर गस्तीमा निस्कने गर्छन् । सित युद्धमा मात्रै सीमित छैनन् यी दुई देश । सन् २०१८ मा मात्रै सर्वसाधारण, सुरक्षाबल र लडाकुसमेत पाँच सयभन्दा बढी मानिसको ज्यानसमेत गएको छ कश्मीर क्षेत्रमा । सधैँ समस्यामा रहने यो क्षेत्रमा फेरि एकपटक तनाव उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसङ्घमा जम्मू कश्मीरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच तनाव भएको हो । राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पी.ले जम्मू कश्मीर भारतको हिस्सा भएको र रहिरहने दाबी गरे पछि तनाव उत्पन्न भएको हो ।

यता पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक सैयद तारिक फतेमीले राष्ट्रसंघ सुरक्षा परिषद्मा जम्मू कश्मीरमा भविष्यमा शान्ति कायम राख्ने विषयमा छलफल हुनुपर्ने माग राखेका थिए । भारतीय राजदूत हरिश पी.ले सैयदको भनाइको प्रतिवाद गरेका हुन् । ‘भारत यहाँ यो बताउन बाध्य भएको छ कि पाकिस्तानले फेरि एकपटक भारतको केन्द्र शासित प्रदेश जम्मू र कश्मीरलाई लिएर अनावश्यक टिप्पणी गरेको छ ।

बारम्बार यसो गरेर जम्मू र कश्मीरमा पाकिस्तानी कब्जा वैध हुन सक्दैन । न त सीमापार प्रायोजित आतङ्कवादलाई सही ठह¥याउन सकिन्छ ।’ उनले भनेका थिए । भारतीय राजदूतले जम्मू र कश्मीरमा पाकिस्तानले गरिरहेको अवैध कब्जा हटाउनुपर्ने तर्क पनि गरे ।

जम्मू र कश्मीर क्षेत्रमा भारत, पाकिस्तान र चीनले आ–आफ्नो सम्प्रभुता दाबी गर्ने गरेका छन् ।
सन् १९४७ अक्टोबर २६ मा जम्मु कश्मीरका अन्तिम डोगरा राजा हरि सिंहले सम्झौता गरी आफ्नो देशलाई भारतमा विलय गराउन सहमति जनाएका थिए । तर, लगत्तै पाकिस्तान र चीनले त्यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि दक्षिण एसियाको सबैभन्दा पुरानो विवादित क्षेत्रमा पटकपटक युद्ध हुने गरेको छ ।
कश्मीरको पछिल्लो तनाव किन भयानक छ ?

भारत र पाकिस्तान स्वतन्त्र भएयता कश्मीर दुवै देशका लागि कलहको बीउ बनेको छ । त्यो क्षेत्र भारत र पाकिस्तान प्रशासित कश्मीरको रूपमा बाँडिएको छ । चीनको नियन्त्रणमा पनि केही भाग छ । कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ गरी दुई पटक युद्ध भइसकेको छ । थुप्रै सशस्त्र अभियान, सेना र सर्वसाधारणलाई लक्षित भएका अनगिन्ती आक्रमण भइसकेका छन् ।
त्यहाँ कसले शासन गर्छ ?

सन् १९४७ मा ब्रिटिश शासनको अन्त्य हुनुअघि नै कश्मीरबारे ठूलो विवाद थियो । जतिखेर उक्त उपमहाद्वीप हिन्दू भारत र मुस्लिम पाकिस्तानको रूपमा विभाजित भएको थियो । कश्मीरका महाराजाले भारत वा पाकिस्तान कतातर्फ जाने भन्ने निक्र्योल गर्न सकेनन् । मताधिकार प्रयोग गरेर टुङ्गो लगाउने विकल्प थिएन । अन्ततः उनले भारत रोजे जसले उक्त भूमिको दाबीमाथि दुई वर्ष लामो युद्ध भयो । युद्धविराम घोषणा हुँदा पाकिस्तानले आफ्नो फौजलाई फिर्ता लैजान मानेन र कश्मीर दुई भागमा विभाजित भयो । भारत र पाकिस्तानबीच त्यस्तो विवाद चलिरहँदा सन् १९५० को दशकमा चीनले विस्तारै पूर्वी कश्मीरमाथि कब्जा ग¥यो । त्यस भेगलाई अक्साईचिन भनेर चिनिन्छ ।

भारत र पाकिस्तानबीच दोस्रो युद्ध सन् १९६५ मा भएको थियो । सन् १९८० र १९९० को दशकको बीचमा भारतीय शासनविरुद्ध रहेको असन्तोषको रूपमा विद्रोह सुरु भयो । मानिसहरूले प्रदर्शन गर्न थाले र पाकिस्तानको सहयोगमा लडाकु समूहहरू जन्मिन थाले । सन् १९९९ मा भारतले छोटो समय पाकिस्तानद्वारा समर्थित फौजसँग तिक्ततापूर्ण लडाइँ ग¥यो । त्यसबेलासम्म भारत र पाकिस्तान दुवैले आफूलाई परमाणु शक्ति भएको घोषणा गरिसकेका थिए । भारत र पाकिस्तान दुवै परमाणु शक्तिसम्पन्न देश हुन् । त्यसैले उनीहरूबीच हुने जुनसुकै द्वन्द्वले पनि नयाँ परिस्थिति सिर्जना गर्न सक्ने अवस्था छ । फलतः यो परिस्थितिलाई थप भड्किन नदिन दुवै पक्ष गम्भीर बन्न आवश्यक छ भने दशकौँदेखिको विवाद वार्तामार्फत समाधान गर्नुको विकल्प छैन । तर, यसो भन्दै गर्दा दुवै देश आ–आफ्नो अडान र दाबीबाट पछि हट्ने सम्भावना त्यति सहज छैन । जसले कुनै पनि बेला दुई देश बीच भयानक युद्धसमेत हुनसक्ने विश्लेषण भइरहेको छ ।