Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बसाइँसराइको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै


मुलुकमा बसाइँसराइको क्रम नरोकिएको खण्डमा पुख्यौली थाँतथलो सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताए । 

उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाइँसराइ गर्ने जनसंख्या पहाडमा रहेको बताए । उनका अनुसार, पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरू सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाइँ सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले जानकारी दिए ।

बसाइँ सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाइँ सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाइँ सरेर गएको जानकारी दिए । यद्यपि, नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ ।

उनले मुलुकमा सक्रिय उमेर समूह अर्थात् काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गरे । प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमूनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताए ।