Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

ओली झनै निरंकुश, पाँच तथ्य र १० निर्णयले यसरी हुन्छ पुष्टि


कुनै समय राष्ट्रवादी नेताको छवि बनाएका केपी शर्मा ओली अहिले आफ्नै खुट्टामा बञ्चरो हान्दैछन् । उनका हरेक निर्णय जनविरोधी मात्र छैनन्, सरकारविरोधी आन्दोलनलाई थप आक्रामक बनाउने खालका प्रतिक्रियात्मक कदमलाई समेत बढावा दिइरहेका छन् । सरकारको कुबुद्धिले विरोधीहरुलाई झनै हौसला थपिरहेको छ । फलतः सरकार जानीजानी भिरमा लड्दैछ भने जनता रामराम मात्र भन्न सक्ने तर काँध हाल्न नसक्ने अवस्थामा पुग्दैछन् ।

सरकारका पाँच उल्टो बाटोको सप्रसंग व्याख्या गर्दैछौँ ।
१. कुलमान हटाउने कलुषित निर्णय
उद्योगीबाट अर्बौँ बक्यौता राज्यको ढुकुटीमा ल्याउन प्रयासरत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले कू गरेको छ । बलियो सरकार बनेकै दिनदेखि कुलमानलाई हटाउन ८ महिनाको अवधिमा ६ पटक स्पष्टीकरण सोधिएका छन् । उनीमाथिको अनियमितताबारे लेखा समितिले फाइल खोल्ने नाटक गरेको महिनौँ भइसकेको छ ।

तर, गलत गरेको भए नियमसंगत तरिकाले छानबिन गर्नुपर्नेमा कार्यकाल सकिनु चार महिना बाँकी रहँदै हटाउने निर्णय आफैँमा बद्मासी मात्र हो । यहाँ सरकारका आफ्नै स्वार्थ देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई नयाँ एमडी बनाएका छन् । स्मरण रहोस् उनी यसअघि प्राधिकरणको नेतृत्वमा रहँदा विद्युत चुहावट बढेको, नाफा घटाएर कमिसन खाएको आरोप लागेको थियो । अर्कोतर्फ हाइड्रोपावरका लगानीकर्ता दीपक खड्कालाई ऊर्जा मन्त्री बनाइएपछि उनी ठूूलै खेलोफाँडो गर्न चाहन्थे ।

अब उनले आफ्नो अवरोध पन्छाएका छन् । कांग्रेसले पनि यसलाई सामान्य रुपमै लिँदा अब उनको पनि स्वार्थ पूरा हुनेछ । उज्यालोका नायक हटाइएपछि देशमा फेरि एकपटक इन्भर्टर र ब्याट्रीको व्यापार बढ्न सक्छ भने यसका माफियाहरु झनै सल्बलाउने खतरा उत्तिकै छ । केही मन्त्रीले कुलमान हटाने निर्णयको विरोध गरे पनि ओली र डा. आरजु राणा देउवाको ट्यूनिङ मिल्दा कसैको केही लागेन । यसको सत्तारुढ नेताहरुले नै आलोचना गरिरहेका छन् ।

२. पूर्वराजा थुन्ने चेतावनी

ओलीको अर्को विवादास्पद अभिव्यक्ति हो पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुन्ने । ओलीले चैत चार गतेको सचिवालय बैठकमा राजावादीका गतिविधि निस्तेज पार्न ज्ञानेन्द्रलाई थुन्न सकिने हदसम्म जान सकिने ब्रिफिङ गरेका थिए । ओलीको पछिल्लो कार्यशैलीले तत्कालीन राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश शासक नै आए पनि स्वीकार्ने अवस्थामा जनआक्रोश पुग्दा आफ्ना बोली र कदम हेर्ने फुर्सद यिनलाई छैन । तर, असन्तुष्टिको आवाज दबाएर मनोमानी गर्ने लाइन उनले पक्रिएका छन् । ज्ञानेन्द्र हत्यारा हुन् भने छानबिन गरेर थुन्ने अधिकार सरकारलाई जुनसुकै बेला पनि छ । तर, २३ वर्षसम्म चुपचाप बसेर आफूमाथि संकट आए थुन्ने अभिव्यक्ति दिनु उल्टो बुद्धिको उपज मात्रै हो ।

३. भारतलाई देखाइदिने धम्की
एमाले सचिवालय बैठकमै ओलीले भारतले आफूविरुद्ध झापादेखि काठमाडौंसम्मै जासुस परिचालन गरेको ब्रिफिङ गरेका थिए । आफूलाई प्रधानमन्त्रीबाट हटाउन उनीहरुले चलखेल गरिरहेको भन्दै भारतलाई देखाइदिने धम्की दिएका थिए । भारत भ्रमणको निम्तो कुर्दाकुर्दै थाकेका ओलीले उत्तेजक अभिव्यक्ति दिँदा नेपालबाट निर्यात हुने प्लाइउड र सिमेन्ट रोकेर भारतले अघोषित अवरोध सुरु गरिसकेको छ । भारत रिझाउन हदैसम्म मिहिनेत पनि गर्ने, कडा भाषामा धम्की पनि दिने र उसको अघि चुँइक्क बोल्नसम्म नसक्ने ओली प्रवृत्ति विपरीत बुद्धिकै उपज हो ।

४.बालेनसँग अनावश्यक लफडा
काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृतको विवाद नमिलेको तीन महिना पुगिसकेको छ । बहालवाला हाकिम सरोज गुरागाइँमाथि छानबिन भइरहेको भन्दै महानगरले पटक पटक नयाँ पठाउन भनिरहेको छ । स्थानीय तहमा कर्मचारी पठाउने अधिकार संघ सरकारकै हो । तर, ओलीको व्यक्तिगत टकराव र इगोका कारण महानगरका कर्मचारीले सास्ती भोग्नुपरेको छ । भलै यसमा मेयर बालेन्द्र शाह पनि केही चुकिरहेकै छन् । तर प्रधानमन्त्रीबाट समन्वयात्मकभन्दा असहयोगको भावना प्रकट हुनु पनि विपरीत बुद्धिको अर्को उपज हो ।

५. हिटलर शैलीको आधिकारिक पुष्ट्याइँ
ओलीले हिटलर शैली देखाएको प्रश्नले तर्सिएको सरकारले फागुन २१ गते दुई पत्रकारको संसद छिर्ने पास निलम्बन गरिदियो । तर, ओलीका केही कदमले उनको हिटलर शैलीको पुनर्पुष्ट्याइँ गरिरहेको छ ।
– विवादित व्यवसायीबाट जग्गादान लिने निर्णयको आलोचना गरेकै भरमा डा. भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सेनामाथि कारबाही
– ओलीविरुद्ध लेखेपछि लुम्बिनी प्रदेशका सांसद दुुर्गा चौधरी निलम्बित
– कोशीका पूर्व सांसद तथा उदयपुरका नेता बिमल कार्कीमाथि पार्टीविरुद्ध फेसबुकमा लेखेको आरोपमा कारबाही
– आफूविरुद्ध नाराबाजी गरेकै भरमा चार युवालाई थुनामा राखेर मुद्दा
यसबाहेक आफ्नो आलोचना सुन्न नचाहने, विरोध गरे विभिन्न निकाय परिचालन गर्नेजस्ता कदम लोकतान्त्रिक गणतन्त्रमा तानाशाहको प्रवृत्ति हो । यतिका सब हुँदा पनि ओली सरकारलाई सत्ता घटक कांग्रेसको अगाध समर्थन रहिरहेको छ ।

कांग्रेस सभापति देउवाले ओलीले जे गरे पनि पूरा साथ हुने भनेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा लगायतहरु सरकार उल्टो बाटो हिँड्यो, बिडम्बना भन्दैछन् । यो पनि उनीहरुको फेस सेभिङ र ड्यामेज कन्ट्रोलका लागि रोनाधोना मात्रै जस्तो देखिन्छ । नत्र सरकार चलाउने संयन्त्रका सदस्य रहेका गगनले कि त ऊर्जामन्त्रीलाई हटाउने, आवश्यक परे समर्थन फिर्ता लिनेसम्मको हिम्मत देखाउनुपर्छ । आफ्नो कार्यशैलीकै कारण अनेकथरीका आन्दोलनको आँधीबेहरी आउनु र जनताको नजरमा असफल सावित भइसकेको आभाष गरेका छन् भने ओलीले अब नैतिकता देखाएकै बेस ।